झापा : झापाको कचनकबलको बनियानीमा सर्पदंश उपचार केन्द्र सुरु हुने भएको छ ।

कचनकबल बनियानीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सर्पदंशको उपचारका लागि स्वास्थ्य मन्त्रालयले अनुमति प्रदान गरेको छ ।

विषालु सर्पको डसाइबाट बर्सेनि धेरै घाइते हुने र अस्पताल टाढा हुँदा उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्थाबाट आजित भएका स्थानीयले विगत लामो समयदेखि सर्पदंश उपचार केन्द्रको माग गर्दै आएका थिए ।

स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कचनकबलको सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति दिएको गाउँपालिकाका अध्यक्ष अन्जार आलमले जानकारी दिए ।

महाशाखाले चार वर्षका लागि अनुमति प्रमाणपत्र जारी गरेको छ। स्वास्थ्य विभागले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरलाई परिपत्र गरी कचनकबलको सर्पदंश उपचार केन्द्रलाई आवश्यकताअनुसार ‘एन्टी स्नेक भेनम’ उपलब्ध गराउन निर्देशन दिएको सो क्षेत्रका प्रदेशसभा सदस्य वसन्त बानियाँले बताए ।

स्वास्थ्य मन्त्रालयले प्रदेश नं १ कै मोरङको केराबारी गाउँपालिकाको कालापानीमा पनि सर्पदंश उपचार केन्द्र र प्रदेश नं २ सप्तरीको कञ्चनरुप नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रलाई समेत सर्पदंश उपचारको अनुमति प्रदान गरेको छ । झापा मुलुककै सर्पदंशका बढी घटना हुने जिल्ला हो । हाल झापाको चारआली र दमकमा सर्पदंश उपचार केन्द्र सञ्चालनमा छन् ।