बिराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नीति तथा कार्यक्रम र बजेट पास पछि प्रदेशको नामको टुङ्गो लगाउने प्रस्ताव गरेका छन् ।

प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रम माथि उठेका प्रश्नको जवाफ दिने क्रममा उनले चालु बजेट अधिवेशनबाटै प्रदेशको नाम टुङ्गो लगाउन प्रस्ताव गरेका हुन् ।

प्रदेशको नाम टुङ्गो लगाउन नसकेको भन्दै मुख्यमन्त्री राईको आलोचना भइरहेको छ । प्रदेशसभामा नामको विषय उठेपछि राईले बजेट पास गरे लगतै नामको विषयमा छलफल गर्न प्रस्ताव गरे ।

‘प्रदेशको नामाङ्कन यस अधिवेशनबाटै हामीले टुङ्ग्याउनु पर्छ, मेरो प्रस्ताव छ यो नीति कार्यक्रम र बजेट पास भएको भोलि पल्टबाट छलफल गर्नुपर्छ,’ उनले भने,‘ कोरोना महामारी बढ्यो भने कुन कुन प्रकारको सतर्कता अपनाउनुपर्ने हो, सावधानी अपनाउनुपर्ने हो, त्यो सावधानी अपनाएर प्रदेशको नामकरण गरेर मात्रै बजेट अधिवेशन अन्त्य हुनुपर्छ ।’

यसै गरी प्रदेशसभामा करिब डेढ घण्टा बोलेका मुख्यमन्त्री राईले ढुङ्गा गिट्टी निकासीको विषयमा केन्द्र सरकारको ध्यानाकर्षण गराएको बताए ।

केन्द्रको नीतिले चुरे संरक्षणमा असर नपर्ने बताउँदै उनले चुरे संरक्षणका लागि सङ्घीय सरकारलाई ध्यानाकर्षण गराइएको बताए ।

प्रदेशको नीति तथा कार्यक्रममा राजपा प्रदेश संसदीय दलका नेता जयराम यादवले दर्ता गराएको संशोधन प्रस्ताव समेट्ने बताएका उनले ढुङ्गा गिट्टी निकासीका विषयमा भने बोलेनन् ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सङ्घीय सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्नुपर्ने उल्लेख गर्दै यादवले दर्ता गराएको प्रस्तावमा भनिएको छ,‘नेपाल सरकारको बजेट वक्तव्य सच्याउन आग्रह गर्दै प्रदेश १ बाट ढुङ्गा गिट्टी बालुवा उत्खनन गर्ने सङ्घीय सरकारको योजनाले देशकै अन्न भण्डारको रूपमा रहेको चुरे क्षेत्रसँग सम्बन्धित जिल्लाहरूमा वन विनाश, वातावरणीय सन्तुलन, जैविक विविधताको संरक्षण, पानी मुहानको संरक्षणका लागि प्रदेशलाई मरुभूमीकरण हुनबाट जोगाउन प्राकृतिक सम्पदाको रक्षार्थ प्रदेश सरकारले आवश्यक निर्णय लिनुपर्छ ।