झापा : अलैँचीको मूल्यको विषयमा सामाजिक सञ्जालमा विभिन्न हल्ला फैलिएको भन्दै नेपाल अलैँची व्यवसायी महासङ्घले त्यसको पछि नलाग्न आग्रह गरेको छ।

केही दिनदेखि सामाजिक सञ्जालमा अनुमानको भरमा अलैँचीको मूल्यको विषयमा मानिसहरूले हल्ला फिँजाएको भन्दै महासङ्घले त्यस्ता हल्लाको पछि नलाग्न आग्रह गरेको हो ।

व्यवसायीहरूले आफू अनुकूल हल्ला फैल्याउदा समस्या आउने भन्दै दैनिक मूल्यको विषयमा बुझ्नुपरे महासङ्घको मोबाइल सूचना प्रणालीमा आबद्ध हुन महासचिव सुवास भट्टराईले आग्रह गरे ।

हाल अलैँचीको मूल्य गुणस्तर हेरेर प्रति मन (४० किलो) ३१ देखि ३३ हजार सम्म रहेको तर मानिसहरूले ५० हजारसम्म भएको भन्दै हल्ला फैल्याएको उनको भनाई छ ।

महासङ्घले अलैँचीको मूल्य दैनिक अपडेट गर्ने गरेको निवर्तमान अध्यक्ष निर्मल भट्टराईले बताए । मोबाइलको म्यासेज बक्समा स्मल लेटरमा आइएफए स्पेस एसिएच लेखेर ३४००१ मा पठाउँदा दैनिक मूल्य म्यासेज आउने उनले जानकारी दिए।

पछिल्लो एक महिनाको अवधिमा अलैँचीको मूल्यमा ११ देखि १२ हजारसम्म मूल्यवृद्धि भएको महासचिव भट्टराईले बताए।

अहिले अलैँचीको उत्पादन घटेको, नेपालमा भएको अलैँची लकडाउन अगाडी नै निर्यात भैसकेको र हाल स्टकमा नरहेकाले अझै मूल्यवृद्धि हुने उनको भनाई छ ।