सुनसरी : सुनसरीको सदरमुकाम इनरुवा स्थित इनरुवा अस्पतालमा विभिन्न प्रविधि र सुविधा भित्रयाईरहे पनि एउटा एक्स–रे (सिआर) मेसिन बिग्रिँदा स्वास्थ्य सेवा लिन आएका बिरामीहरू मारमा परेका छन् ।

एक्स–रे मेसिन बिग्रिएको केही दिन बिती सक्दा समेत पुनः मर्मत भई आई नपुगेकाले सामान्य बिरामी लगायत कोभिड अस्पतालमा भर्ना भएका बिरामी पनि एक्स–रे सेवाबाट वञ्चित भएका छन् ।

इनरुवा अस्पताल हाल ५० शय्याको भए पनि एउटा मात्रै एक्स–रे मेसिन छ । अस्पताल परिपरिका निजी क्लिनिकहरूमा समेत एक्स–रे सेवा हुँदा पनि सङ्क्रमित बिरामीको एक्स–रे गर्न नमानेपछि यस सुविधाबाट वञ्चित भएका छन् ।

प्रायः छाती दुखेका र अन्य बिरामीलाई समेत एक्स–रे सेवा लिनु अनिवार्य हुन्छ । तर, इनरुवा कै सरकारी अस्पतालमा एक्स–रे मेसिन बिग्रिँदा बिरामीले टाढाका निजी अस्पतालमा उपचारको लागि पुग्नुपरेको बिरामीका आफन्त लगायत स्थानीयको गुनासो छ ।

एक्स–रे फाँटका कर्मचारीले विगत ६ महिना पूर्व नै एक्स–रे को क्यासेट सक्किन लागेको र त्यस पछि २ थान क्यासेटको आवश्यकता पर्ने हो त्यसैले एक्स–रे सेवा पुनः दिन सक्दैनौ भनी पटक पटक लिखित जानकारी दिँदा समेत अस्पतालको तर्फबाट कुनै पहल नभएको बताए ।

बिग्रिएर थन्किए पछि सामान ल्याई दिन भनी अस्पताल प्रशासनलाई पटक पटक भन्दा समेत सामान आउँदै छ । हामी मगाएका छौ २–४ दिन लाग्छ भनी सन्तोषजनक जवाफ दिएको एक्स–रे का कर्मचारीले बताए ।

अस्पतालका व्यवस्थापन समितिका अध्यक्ष गोपाल राजभण्डारीका अनुसार उक्त एक्स–रे मेशिनमा लाग्ने क्यासेट मगाउन बढी मूल्य पर्ने भएकोले छलफल गरी आफू बढी मूल्यमा पनि मगाउन तयार रहेको र केही दिनमै सामान आई पुग्ने र मर्मत पछि लगतै एक्स–रे सेवा सञ्चालन हुने जानकारी दिए ।

विगत केही दिन अगाडी पनि यो एक्स–रे मेसिनको सामान चोरी भएको र उक्त सामान हाल सम्म पनि फेला पर्न सकेको छैन । उक्त सामानको हालको बजार मूल्य करिब दुई लाख ५० हजार रुपैयाँ पर्न जान्छ । अव एक्स–रे मेशिनका लागि चाहिने आवश्यक २ थान क्यासेटको बजार मूल्य करिब तीन लाख रुपैयाँ पर्न जान्छ ।

यसरी पटक पटक कहिले चोरी हुने त कहिले सामान हराउने, कहिले सामान बिग्रिएको भनी एक्स–रे सेवा बन्द गर्ने भएकोले कहीँ कतै कर्मचारीको लापरबाही हो कि वा प्रशासनको पनि मिलेमतो छ भन्ने विषयमा समेत चर्चा तथा प्रश्न समेत उब्जिन थालेको छ ।

इनरुवा अस्पतालका कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका सङ्क्रमित बिरामीहरूलाई एक्स–रे बिग्रिएका कारण एक्स–रे नहुँदा बिरामीको स्वास्थ्य उपचारमा कठिनाइ भएको र अन्त रेफर गर्नुपर्ने बाध्यता रहेको डा. विनोद मेहताले जानकारी दिए ।