धरान : सेवा,साधना तथा सत्सङ्गलाई आफ्नो मूल मन्त्र बनाई योग,ध्यान,प्राणायाम र सामाजिक सेवाको क्षेत्रमा काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था द आर्ट अफ लिभिङद्धारा धरानका दैनिक गरी खाने बर्गलाई खाद्यान्न वितरण गरिएको छ ।

संस्थाको सुनसरी धरान स्थित रहेको शाखाले सोमबार धरान–५ तल्लो देउराली स्थित सुकुम्वासी बस्तीमा रहेको दैनिक गरी खाने वर्ग तथा लकडाउनबाट प्रभावित ५८ घर परिवारलाई उक्त खाद्यान्न सहयोग गरेको हो ।

संस्थाको नेपालस्थित काठमाडौँमा रहेको कार्यालय र धरान स्थित रहेको सुनसरी जिल्लाकी संयोजक पार्वती श्रेष्ठको आर्थिक सहयोगमा उक्त प्रभावित दैनिक गरिखाने वर्गका मानिसहरूलाई ५२ हजार रकम बराबरको खाद्यान्न सहयोग गरेको संस्थाले जनाएको छ ।

संस्थाकी संयोजक पार्वती श्रेष्ठका अनुसार उक्त खाद्यान्न राहतमा प्रति परिवार १० केजी चामल, एक केजी दाल, एक लिटर तेल, एक केजी न्युटेला,र बिस्कुट हस्तान्तरण गरेको जनाइएको छ ।

गत साल पनि संस्थाले कोरोना महामारीले गर्दा लकडाउन भए सँगै सबै क्षेत्र बन्द भए पछि खाद्यान्न प्रदान गरेको थियो । उक्त खाद्यान्न वितरणका लागी धरान ईग्लीस बोर्डिङ स्कुलका अध्यक्ष दिनेश जिमी,स्थानीय पत्रकार विनोद दर्नाल लगायतले सहयोग गरेका थिए ।