झापा : सामाजिक संस्था हेल्पिङ्ग हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले मेची अस्पताल भद्रपुरलाई करिब ४० लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र सामग्री प्रदान गरेको छ।

दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको महामारीले सरकारी अस्पतालमा निःशुल्क उपचार गराउन आउने सङ्क्रमित र अन्य बिरामीलाई मध्यनजर गरी हेल्पिङ्ग हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टले उक्त मूल्य बराबरको स्वास्थ्य उपकरण र सामग्री प्रदान अस्पताल प्रशासनलाई प्रदान गरेको हो ।

वर्क फर नेपालको पहल र हेस्रा नेपालको सहकार्यमा हेल्पिङ्ग ह्यान्डले मेची अस्पताललाई एक थान आइसियु बेड, दुई थान अक्सिजन सिलिन्डर, एक थान हाइड्रोलिक स्ट्रेचर, एक थान ल्याब युनिट वार्भर मेसिनसहित १३८ प्रकारका स्वास्थ्य सामग्री र उपकरण दिएको हो ।

सोमबार एक संक्षिप्त कार्यक्रमका बिच हेल्पिङ्ग हेन्ड फर रिलाइफ एन्ड डेभलपमेन्टका प्रबन्धक जिनप्रसाद पोखरेल, हेस्रा नेपालका अध्यक्ष जियाउँदिन खानले अस्पताल सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष सोमनाथ पोर्तेल र मेसु डा. टङ्कप्रसाद बाह्रकोटीलाई सो सामग्री हस्तान्तरण गरेका थिए ।

भूकम्प पश्चात् सन् २०१७ मा नेपाल सरकारसँग सम्झौता गरी विगत ५ वर्षदेखि हेल्पिङ्ग ह्यान्डले काठमाडौँ, झापा र कपिलवस्तु जिल्लालाई केन्द्र बनाएर सामाजिक गतिविधि लगायतको सेवामूलक कार्य गर्दै आइरहेको छ ।

हेल्पिङ्ग ह्यान्डले झापासहित सात जिल्लाका १६ वटा अस्पताललाई ५ करोड बराबरको स्वास्थ्य सामग्री प्रदान गर्ने बताउँदै हेन्डका प्रबन्धक पोखरेलले यो अभियानको सुरुवात मेची अस्पतालबाट गरिएको उल्लेख गरे ।

झापाको मेची अस्पताललाई ४० लाख, आम्दा अस्पताल दमकलाई ३९ लाख र शनिश्चरे अस्पताल अर्जुनधारालाई २१ लाख मूल्य बराबरको स्वास्थ्य उपकरण र सामग्री प्रदान गर्ने उनले बताए ।

देशभरका ४० अस्पताललाई स्वास्थ्य सामग्री दिने योजना समेत रहेको उनको भनाई छ । हेस्रा नेपालका अध्यक्ष जियाउँदिन खानको अध्यक्षता तथा सञ्चालक तथा व्यवस्थापन समितिका अध्यक्ष पोर्तेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अस्पतालका मेसु डा. बाह्रकोटीले अस्पताललाई स्वास्थ्य उपकरण र सामग्री प्रदान गर्ने सहयोग दातालाई धन्यवाद दिएको कार्यक्रमको सञ्चालन वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले गरेका थिए ।