धरान : गोर्खा सेमेट्री ट्रस्ट हङकङले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको धरान–१९ को हरियाली आइसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर प्रदान गरेको छ ।

हरियाली आइसोलेसन सेन्टर परिसरमा आज एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद्का निर्देशक समेत रहेका नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरेका हुन् ।

धरान–१९ स्थित हरियाली सामुदायिक भवनको आवास गृहमा उपमहानगरपालिकाले २५ शय्याको आइसोलेसन सेन्टर सञ्चालन गरेको छ । जसमा नेपाल पत्रकार महासङ्घ सुनसरीको समेत समन्वय रहेको छ ।

मेयर तिलक राईले कोभिड–१९ सङ्क्रमित बिरामी राख्नका लागि हरियालीमा आइसोलेसन सेन्टर सञ्चालन गरिएको बताए । मेयर राईले कोरोनासँग लड्न साथ सहयोगको भावना जरुरी रहेको बताउँदै गत वर्षको तुलनामा यस वर्ष मानिसहरूमा डर त्रास कम भएको बताए ।

“पोहोर हरियालीमा आइसोलेसन सेन्टर बनाउँदा निक्कै ठुलो छलफल गर्नुपर्‍यो, दुई, चार पटक आएर छलफल गरेपछि घेरा बार लगाएर आइसोलेसन सेन्टर बनायौँ, त्यसताका हामी पनि आतङ्कित थियौँ ।

सङ्क्रमित बिरामीले केही पो गर्ला कि भनेर हरेक कोठामा सि सी क्यामेरा राखेका थियौ । अहिले त्यस्तो छैन, सि सी क्यामेरा अहिले बाहिर राखिएको छ”, मेयर राईले भने । धरानको आइसोलेसन सेन्टरलाई गोर्खा सेमेट्री ट्रस्ट हङकङले अत्यन्तै महत्त्वपूर्ण सामग्री सहयोग गरेको भन्दै मेयर राईले धन्यवाद प्रकट गरे ।

अहिले धरान उपमहानगरपालिकामा कोभिड-१९ सम्बन्धी सम्पूर्ण कुराहरूमा सबैको सहकार्य रहेको जानकारी दिए । साथै, मेयर राईले वीपी प्रतिष्ठानको हाताभित्र सञ्चालनमा रहेको कोभिड अस्पताल बाहिर बिरामीको आफन्तका लागि कुरुवा घर निर्माण गरिएको बताउँदै हस्तान्तरण गर्न बाँकी रहेको पनि बताए ।

Gurkha-Cemestry-trust-1 3

उपमहानगरपालिकाको संयोजनमा ३२ लाखमा निर्माण गरिएको कुरुवा घर हस्तान्तरण गर्ने तयारी भइरहेको मेयर राईले बताए । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग उपमहानगरपालिको सहकार्य रहेको बताउँदै मेयर राईले भने, “भोलिको दिनमा आइसोलेसन सेन्टरमा भेन्टिलेटरको आवश्यक परेन, वीपीको कोभिड अस्पतालमा बिरामीलाई आवश्यक पर्‍यो भने हामीले त्यहाँ पनि हस्तान्तरण गर्न सक्छौँ ।”

नेपालस्थित गोर्खा सेमेट्री ट्रस्टका अध्यक्ष महेन्द्र राईले भेन्टिलेटर अभाव भइरहेको बेला ट्रस्टले आर्थिक संकलन गरेर देशभरका विभिन्न अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा पोर्टेवल भेन्टिलेटर वितरण गरिएको जानकारी दिए ।

गोर्खा सेमेट्री ट्रस्ट हङकङले नेपाल सरकारलाई पहिलो चरणमा ५० थान पोर्टेवल भेन्टिलेटर सहयोग गरेको सुनाउँदै अध्यक्ष राईले आवश्यक परेको अस्पताल तथा आइसोलेसन सेन्टरहरूमा गोर्खा सेमेट्री ट्रस्ट नेपालले आफै वितरण गर्न थालेको बताए । सोही अभियान अन्तर्गत धरानको आइसोलेसन सेन्टरलाई पाँच थान पोर्टेवल भेन्टिलेटर हस्तान्तरण गरिएको अध्यक्ष राईले जानकारी दिए ।

यसै गरी, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईले धरान उपमहानगरपालिका र पत्रकार महासङ्घ सुनसरीको सहकार्यमा सञ्चालन भएको आइसोलेसन सेन्टरमा उपमहानगरपालिकाले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मेयर राईलाई धन्यवाद दिए ।

कोभिड-१९ को दोस्रो लहरसँग जुध्नका लागि गोर्खा सेमेट्री ट्रस्ट हङकङले आइसोलेसन सेन्टरलाई भेन्टिलेटर सहयोग गरेको बताउँदै उनले विदेशमा रहेर पनि आफ्नो देशलाई माया गरेर कोरोना महामारीको बेलामा अत्यन्तै आवश्यक सामाग्री सहयोग गर्ने गोर्खा सेमेस्ट्री ट्रस्ट हङकङ र नेपालका सम्पूर्ण पदाधिकारीलाई धन्यवाद दिँदै प्रशंसा गरे ।

कार्यक्रममा सोही वडाका वडाध्यक्ष पूर्ण लिम्बु, वडा नं.-१८ का वडाध्यक्ष प्रवीण राई (नरेन्द्र), वडा नं.-२ का वडाध्यक्ष माधव गोविन्द श्रेष्ठ, स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता लगायतको उपस्थितिमा उक्त सामग्री हस्तान्तरण गरिएको थियो ।