झापा : झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा चोट देखिएको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

मृतकको घाटी र चिउँडो मुनि चोटपटक देखिएपछि शव परीक्षणका लागि प्रतिष्ठान पठाइएको थियो । बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले दमक रातो पुल बस्ने २८ वर्षीय अरुण राईलाई  पक्राउ गरेको छ।

राईलाई अनुसन्धानका लागि जिल्ला अदालत झापाबाट आज ७ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए । 

सेजलको रहस्यमय ढङ्गबाट हत्या भएको भन्दै असार १ गते उनका बुवाले किटानी जाहेरी दिएका थिए । मृतकको शव परीक्षण प्रतिवेदन र किटानी जाहेरी आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा राईलाई मङ्गलवार पक्राउ गरेको थियो । 

देउमाई-४ इलाम निवासी १९ बर्षीय सेजल दमक ५ का चन्द्रबहादुर गुरुङको घरको दोस्रो तलामा डेरा गरी  लाइफलाइन अस्पतालमा रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।

उनलाई आफू बस्ने डेराको शौचालयमा जेठ २६ गते साँझ साढे ६ बजे  बेहोस अवस्थामा अरुण र निजका साथीहरूले फेला पारी अस्पताल लगेकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।