धरान : उदयपुर त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय परशुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित प्रहरीले पक्राउ गरेको छ । 
 
मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा हिजो राती १० बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उनको कोठाबाट अटोमेटिक मेडइन युएस लेखिएको पेस्तोल थान १ र गोली ५ राउन्ड फेला पारेको थियो । 
 
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनकै कोठाबाट अखिल नेपाल ट्रेड युनियन महासङ्घ लेखिएको सहयोग रसिद ८ ठेली, नेकपा माओवादी केन्द्र  लेखिएको सदस्यता पत्र थान ३, अखिल नेपाल निर्माण मजदुर सङ्घ लेखिएको सदस्यता पत्र थान ८५ समेत फेला पारेको थियो । पक्राउ परेका चौधरी माथि थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।