विराटनगर : मोरङको कानेपोखरी गाउँपालिका–१ होक्लाबारीकी ३० वर्षीया सरिता सोरेनको हत्या आरोपमा ३१ वर्षीय प्रेमी सुफल हस्दा पक्राउ परेका छन् ।

हत्यामा संलग्नलाई प्रहरीले लगभग डेढ महिनापछि पक्राउ गरेको हो । हत्यामा उनकै प्रेमी रतुवामाई नगरपालिका–६ कपरसुकाका हस्दाको संलग्नता पुष्टि भएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । खड्काका अनुसार सुफल र सरिता ६ महिना अघिदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।

बिहेमा जानेभन्दै वैशाख १७ गते घरबाट हिँडेकी सरिता प्रेमी सुफललाई भेट्न रतुवामाई पुगेको पाइएको छ । प्रहरीका अनुसार दुई जनाको भेट भएपछि बिहे गरेर घरमै लैजानुभन्दै सरिताले कर गरेर दबाब दिएको खुल्यो । त्यसलाई अस्वीकार गरेका सुफलले कुटपिट गरेर र घाँटी थिचेर हत्या गरेको खुलेको एसपी खड्काले बताए ।

घरबाट बिहेमा जानभन्दै हिँडेको दुई दिनपछि गत वैशाख १९ गते सरिताको शव रतुवामाई–६ स्थित मकै बारीमा बीभत्स अवस्थामा फेला परेको थियो । घटनापछि फरार रहेका सुफललाई मोरङ प्रहरीका डिएसपी मञ्जील मुकारुङ नेतृत्वको टोलीले महेन्द्रनगरको कञ्चनपुरबाट बुधवार साँझ पक्राउ गरेर मोरङ ल्याइ पुर्‍याएको छ ।

प्रहरीले उनी विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट बिहीबार म्याद थप गरेर घटनाको अनुसन्धान अघि बढाएको छ । हत्यापछि फरार रहेका सुफल भारत गएर उतै बस्ने योजनामा रहेको पाइएको एसपी खड्काले बताए । तर प्रहरीले पक्राउ गर्न सकेका कारण उनको भारत जाने योजना भने सफल भएन ।

विगत छ महिना देखिको प्रेम सम्बन्धलाई बिहेमा परिणत गर्न सरिताले दबाब दिन थालेपछि दुई जनाबिच वादविवाद बढेर घटना भएको देखिएको एसपी खड्काको भनाइ छ ।

सरिताका श्रीमानको तीन वर्षअघि नै मृत्यु भइसकेको छ । प्रहरीका अनुसार चिनजानका साथी रहेका सरिताका श्रीमान् र सुफल दुवै जना ट्याक्टर चलाउँथे ।

श्रीमानको मृत्यु भएपछि सुफल प्रेमको नाटक गर्दै सरितासँग नजिकिएको पाइएको प्रहरीले जनाएको छ ।