झापा : कोरोना सङ्क्रमणको दोस्रो लहरको प्रभाव कमजोर हुँदै गए पनि विज्ञहरूले तेस्रो तहको चेतावनी दिइरहेका छन् ।

तेस्रो लहरमा अवस्था झन् खराब हुने भन्दै त्यसको तयारीमा लाग्न चिकित्सकहरूले सुझाव दिइरहेका बेला दमकमा निजी क्षेत्रको पहलमा भेन्टिलेटर खरिदको पहल हुन थालेको छ ।

उद्योग वाणिज्य सङ्घ दमकको अगुवाइमा गम्भीर प्रकृतिका बिरामीहरूको उपचारको लागी भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढाईएको सङ्घका अध्यक्ष गोकुल श्रेष्ठले बिहीबार वाणिज्य सङ्घको कार्यालयमा भएको छलफलमा जानकारी दिए ।

सङ्घका पूर्व अध्यक्ष प्रकाश प्रसाईँको संयोजकत्वमा भेन्टिलेटर खरिद समिति गठन गरी तत्काललाई ५ वटा भेन्टिलेटर खरिद गर्ने गरी प्रक्रिया सुरु गरिएको छ ।

समितिले भेन्टिलेटर खरिदको लागी आर्थिक संकलन सुरु गरेको समितिका संयोजक प्रसाईंले जानकारी दिए । उद्योग वाणिज्य सङ्घ दमकले १ लाख ५१ हजार रुपैयाँ सुरुवाती रकम जम्मा गरेपछि अन्य व्यवसायी तथा सर्वसाधारणबाट रकम सङ्कलनको काम थालिएको उनले बताए ।

हाल सम्म समितिमा १० लाख ५२ हजार रुपैयाँ जम्मा भएको भन्दै उनले उद्योग वाणिज्य सङ्घ दमकको नाममा रहेको नविल बैङ्क दमक शाखाको खाता नम्बर ०२२०१०१७५०१४३५ मा रकम जम्मा गर्न सकिने जानकारी दिए । उनले भोलि बिरामी भएका बेला उपचार नपाएर मर्न नपरोस् भन्दै आज सकेको रकम सहयोगको लागी सबैसँग आग्रह समेत गरे ।

प्रसाईँ संयोजकत्वको समितिले विज्ञहरू सम्मिलित अन्य उप समिति समेत गठन गरी भेन्टिलेटर खरिदको लागी प्रक्रिया अघि बढाएको छ ।

औषधि व्यवसायी सङ्घ झापा अध्यक्ष गौतम गुप्ताको संयोजकत्वमा चिकित्सक र इन्जिनियर सहितको विज्ञ समिति र उद्योग वाणिज्य सङ्घ दमकका कार्य समिति सदस्य भरत चौलागाईं संयोजक रहेको भेन्टिलेटर खरिदका लागी अध्ययन तथा समन्वय उप समिति गठन गरेर खरिदको लागी सुझाव लिइरहेको संयोजक प्रसाईंले बताए । यही असार भित्रमा भेन्टिलेटर ल्याउने गरी खरिद प्रक्रिया सुरु गरिएको बताइएको छ ।

हाल दमकमा सरकारी र निजी क्षेत्रका अस्पतालहरू गरी जम्मा १४ जना भेन्टिलेटर रहेको दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराईले जानकारी दिए ।