धरान : सप्तकोशी नदीमा पानीको बहाव घट्दै गएको छ ।

आज बिहान ८ बजे मापन गरिए अनुसार अहिले ९८ हजार ५ सय ६५ क्युसेक पानीको बहाव रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

अहिले ५६ ढोका मध्ये १६ वटा ढोका खुल्ला गरिएको छ । हिजो बिहान १ लाख १४ हजार ७ सय ४५ क्युसेक पानीको बहाव पुगेको थियो भने १९ वटा ढोका खोलिएको थियो ।

पहाडी क्षेत्रमा कम वर्षा भएकोले नदीको बहाव पनि घट्दै गएको बताइएको छ ।

मनसुनी वायुको प्रभाव रहेकाले आज देशका अधिकांश स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

यस्तै‚ प्रदेश १, बागमती  र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा भीषण वर्षा हुने र पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम, नदी तथा खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रवार बिहान देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हलका वर्षा भइरहेको छ।

दिउँसो पनि  देशभरको मौसम बदली रहने छ। देशका अधिकांश ठाउँमा वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शुक्रवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि सुदूरपश्चिम प्रदेशका एक वा दुई ठाउँमा भने भीषण वर्षाको सम्भावना रहेको छ ।