धरान : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विद्यमान देखिएको आर्थिक अनियमितता भ्रष्टाचार को छानबिन माग गदै चिकित्सक र कर्मचारीले संयुक्त रूपमा आन्दोलन जारी राखेका छन् ।

प्रतिष्ठानको फ्याकल्टी वेल्फेयर सोसाइटी अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा चिकित्सक, नर्स र डाक्टरहरूले प्रतिष्ठान पदाधिकारीको बेथितिविरुद्ध ४ दिन देखी पानी झरीका बाबजुद पनि छाता ओढेर पनि आन्दोलन चर्काएका हुन् ।

प्रतिष्ठानमा भएको सबै आर्थिक अनियमितताका घटनाको छानबिन गरेर दोषीमाथि कारबाही नभएसम्म आन्दोलनलाई जारी राख्ने चेतावनी दिएका छन् । उनीहरूले अख्तियारले छापा मात्र मारेको तर,कुनै कारबाही नगरेको समेत आन्दोलनकारीले चिन्ता व्यक्त गरे ।

पछिल्लो समय राजनीतिक हस्तक्षेपमा परेका बीपी प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा संलग्न हुन थालेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलित कर्मचारीको भनाई छ ।

आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले प्रतिष्ठान सुधारको माग गर्दै बिहीबार धरान बजारमा विरोध प्रदर्शन समेत गरेका थिए । प्रतिष्ठानमा उपकुलपति डा. ज्ञानेन्द्र गिरी र डा. मोहनचन्द्र रेग्मी रजिस्ट्रार भएर कार्य गर्दा झन् बेथिति मौलाएको चिकित्सकहरूको भनाई छ ।

चिकित्सकको आन्दोलनलाई प्रतिष्ठानका निवर्तमान शिक्षाध्यक्ष प्रा. डा. विक्रमप्रसाद श्रेष्ठले समेत समर्थन गरेका छन् । सोसाइटीका महासचिव डा. सूर्यप्रसाद रिमालले पछिल्लो समय राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीले प्रतिष्ठानमा समस्या उत्पन्न भएको बताए । उनले प्रतिष्ठानमा भएको भ्रष्टाचारको विरोध गर्दा उपकुलपति डा. गिरीले उल्टै चिकित्सक र कर्मचारीलाई विभिन्न प्रकारका धम्की दिएको आरोप उनीहरूको छ ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक तथा विद्यार्थीहरूले उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको शैक्षिक योग्यतामाथि पनि प्रश्न उठाएका छन् । उनीहरूले उपकुलपतिले कुन मितिमा, कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? यसबारेमा प्रस्ट पार्न आग्रह गरेका छन् ।

चिकित्सक तथा विद्यार्थीहरूले यही प्रश्न उल्लेख गरिएको ब्यानर सहित रे्याली निकालेका थिए । संयुक्त सङ्घर्ष समिति ब्यानरमा लेखिएको छ । ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? सो पत्रको फोटोकपी पनि उपलब्ध गराइदिनु होला । ’

प्रतिष्ठानका हाल उपकुलपति रहेका डा.गिरी भने प्राध्यापक उपाधि प्राप्त नभएको यहाँका चिकित्सकहरूले आरोप लगाउँदै आएका छन् ।

BP-Andolan-1 1