धरान : धरान उपमहानगरपालिकाले कृषकहरूलाई कालो बङ्गुरको पाठापाठी वितरण गरेको छ ।

२५ जना कृषकहरूलाई प्रति व्यक्ति ४ वटाका दरले १ सय वटा कालो बङ्गुरको पाठापाठी वितरण गरेको हो।

धरान-१३ स्थित कृषि उपज बजारमा आज एक कार्यक्रमको आयोजना गरी धरान उपमहानगरपालिकाका मेयर तिलक राईले कृषकहरूलाई कालो बङ्गुरको पाठापाठी वितरण गरेका हुन्।

मेयर राईले कृषकहरूलाई उपयुक्त खोर बनाउन सुझाव दिँदै बङ्गुरको पाठापाठी लगेर मास्न नहुने बताए । कृषकहरूलाई प्राविधिक ज्ञान र सहयोग रहने पनि जानकारी दिए ।

बेला बेलामा कृषि शाखाका प्राविधिकहरूलाई बोलाएर परामर्श लिन पनि मेयर राईले आग्रह गरे। ‘धरान उपमहानगरपालिकाले अनुगमन पनि गर्छ। हप्ता दिन, महिना दिन । अनुगमनमा हामीले दिएको बङ्गुरको पाठा पाठी खोरमा भेटेनौ भने तपाईँहरूलाई कारबाही पनि हुन्छ । जरिवाना पनि हुन्छ ।,’ मेयर राईले भने ।

हरेक किसानले राज्यबाट अनुदान लिएपछि आफ्नो वरिपरिको छिमेकीहरूलाई प्राविधिक ज्ञान सिपहरू हस्तान्तरण गर्नुपर्ने मेयर राईको भनाई थियो। ‘किसानहरू सहिढंगबाट हिड्नसक्यो भने स्थानीय सरकार, प्रदेश र केन्द्रीय सरकारले आवश्यक परेको खण्डमा अनुदान दिन सक्छ,’ मेयर राईले भने।

मेयर राईले पशुपालनबाट फाइदा लिन सकिने बताउँदै धरान उपमहानगरपालिकाले कालो बङ्गुरलाई प्रवर्द्धन गर्ने उद्देश्य लिएको बताए। मेयर राईले भने, ‘धरान उपमहानगरपालिकाले कालो बङ्गुरको प्रवर्द्धन गर्ने, ऐन कानुन बनाउने, अर्को कुरा हामीले तिन पाने रक्सीलाई पनि जोडेका छौँ ।

हामी जाँड, रक्सी पार्छौ त्यसैको कट (छोक्रा) सुँगुरलाई दिन्छौँ, सर्कल छ ।’ यस वर्ष कृषकहरूलाई इटहरीबाट बङ्गुरको पाठा पाठी ल्याएर वितरण गरिएको बताउँदै अर्को वर्ष वितरण गर्दा धरानमै उत्पादन भएको बङ्गुरको पाठा पाठी वितरण गर्नुपर्नेमा मेयर राईले जोड दिए ।

धरान उपमहानगरपालिकाका पशु शाखाका अनुसार यस भन्दा अघि २५ जना कृषकहरूलाई एक सय वटा बङ्गुरको पाठा पाठी वितरण गरिएको थियो । यस्तै, दोस्रो चरण अन्तर्गत आज धरान वडा नं. ६ चौकीडाँडा बङ्गुर पालन कृषक समूह, वडा नं. ४ को खैरेनीटार बङ्गुर पालन कृषक समूहका २५ जना कृषकलाई छनौट गरेर एक सय वटा बङ्गुरको पाठा पाठी वितरण गरिएको जनाएको छ ।

यस्तै, पहिलो चरण अन्तर्गत पत्रंगबारी बङ्गुर पालन कृषक समूहका छुटेका ५ जना कृषकलाई पनि आज बङ्गुरको पाठा पाठी वितरण गरिएको पशु शाखाले जनाएको छ।