इटहरी : बेलबारी नगरपालिकाले गलत समाचार सम्प्रेषण गर्ने सञ्चारमाध्यमलाई मुलुकी अपराध संहिता बारे सचेत गराएको छ। नगरपालिकाले खरिद गरेको बोयर बाख्राको विषयमा चरित्रहत्या गर्नेगरि समाचार सम्प्रेषण भएको भन्दै नगरपालिकाले ध्यानाकर्षण गराएको हो ।

मेयर ज्ञानेन्द्र सुवेदीद्वारा जारी विज्ञप्तिमा सञ्चार माध्यममा आम जनतालाई भ्रममा पार्ने गरी विना प्रमाण तथ्यहीन, कपोकल्पित र पूर्वाग्रह राखेर कसैको चरित्र हत्या हुने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरिएको छ। त्यस्ता समाचारबाट चरित्र हत्या गर्नु निन्दनीय र घृणित कार्य मात्र नभई मुलुकी अपराध संहिता, २०७४ को दफा ३०६ को उपदफा २ (क) बमोजिम कसुर ठहरिने हुनाले यस्ता भ्रामक र घृणित कार्य नगर्न नगराउन ध्यानाकर्षण गराइएको छ।

शुक्रवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “स्वतन्त्रता, निष्पक्षता र जबाफदेहिताको सिद्धान्तमा आधारित सञ्चार माध्यम लोकतान्त्रिक मुलुकको पूर्व सर्त हुन् । सञ्चारमाध्यमको भूमिका र महत्त्वमाथि नगरपालिकाको सदैव सम्मान गरिरहेकोले सञ्चार जगतले समेत आफ्नो आचरण र पेशागत मर्यादा कायम गरी निष्पक्ष र तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध गर्दछौं ।”

बेलबारी नगरपालिकाले २०७७ साल फाल्गुन २६ गते बोयर बाख्रा खरिदको लागी टेण्डर आह्वान गरेको थियो । अष्ट्रेलियन बोयर भनेर किसानलाई वितरण गरिएको बाख्रा नेपाली प्रजातिकै पाइएपछि समस्या उत्पन्न भएको हो । पछि ग्रो अर्ग्यानिक कृषि प्रा.लि. सङ्खुवासभाले टेन्डर पारेर बाख्रा खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिसकेपछि नेपाली प्रजाति भन्ने पत्ता लाग्यो । नगरपालिका सँगको सम्झौतामा उल्लेखित सर्त र मापदण्ड भन्दा विपरीत बोका बाख्रा उपलब्ध भएको भन्दै नगर कार्यपालिकाको जेठ ३१ गतेको बैठकले ठेक्का रद्द गर्ने निर्णय गरेको छ ।

ग्रो अर्ग्यानिक कृषि प्रा.लि लाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचल, काठमाडौँलाई सिफारिस गरी धरौटी समेत जफत गर्ने निर्णय भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सोही विषयलाई लिएर सञ्चार माध्यमले सूचना लिने वा सत्यतथ्य खोजी गर्ने भन्दा पनि तथ्यहीन, निराधार र भ्रामक समाचार प्रकाशन गरेको बताइएको छ । “यस प्रकारको भ्रामक समाचार प्रति निगरानी राख्न प्रेस काउन्सिलको समेत ध्यानाकर्षण गराउन चाहान्छौं,” विज्ञप्तिमा भनिएको छ ।

belbari-statementbelbari-staement