धरान : हर्दिया मार्ग कृषि सडक निर्माण आयोजनाले घर भत्किए पछि धरान-१५ नीराजन टोलवासी र संघसंस्थाहरुको संयुक्त सहयोगमा विष्णु माया राईको दुई कोठे घर निर्माण कार्य सम्पन्न भएको छ।

प्रदेश सरकार र सङ्घीय सरकारको आयोजना अन्तर्गत धरान-१५ नीराजन मार्ग देखि कन्यापोखरी सम्म कृषि सडक निर्माण कार्य भइरहेको छ।

उक्त सडकले नीराजन मार्गमा बस्दै आएकी विष्णु माया राईको काठको घर भत्काई दिएपछि नीराजन टोलका अग्रज डाकमान राई, पर्वत राई, गजेन्द्र राई, रबिन राई र लीलानाथ लिम्बूको पहलमा टोलबासी र विभिन्न सङ्घसंस्थाको सहयोगमा भुईँ ढलान इट्टाको गारो ट्रस सहित टिनको छाना भएको दुई कोठे घर निर्माण गरी असार ४ गते एक कार्यक्रम मार्फत धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीको उपस्थितिमा विष्णु माया राईलाई घर हस्तान्तरण गरिएको छ।

उक्त समयमा बोल्दै उपमेयर मञ्जु भण्डारीले प्रदेश सरकारको गौरवको आयोजना अन्तर्गत हर्दिया मार्ग बन्ने क्रममा विष्णु माया राईको घर भत्किएकोमा टोलवासी मिलेर पुन निर्माण गरिदिएकोमा टोलवासीलाई आभार प्रकट गरिन। टोलका अग्रज व्यक्तित्व पर्वत राईले सामाजिक दायित्व र कर्तव्य पूरा गरेको र आउने जेनेरेसनले पनि सामाजिक कार्य गर्नु पर्ने रहेछ भन्ने सोच विकास होस भन्ने हेतुले सानो सहयोग गरेको बताए।

अर्का अग्रज व्यक्तित्व डाकमान राईले घर निर्माण कार्यमा सहयोगीहरू को नाम वाचन गर्दै आर्थिक, निर्माण सामाग्री, श्रमदान मार्फत सहयोग गर्ने टोल बासी र सङ्घ संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै सहयोगी मनहरू प्रति कृतज्ञता व्यक्त गरे। 

२ लाख २४ हजार १ सय १० लागतमा निर्माण सम्पन्न भएको घर बनाउन नीराजन बस्ती कल्याण समाज, किरात राई यायोक्खा कार्यसमिति धरान-१५, नेकपा एमाले धरान १५ न. कमिटी र हसिना ग्रुप तथा टोलवासीले आर्थिक सहयोग, निर्माण सामग्री सिमेन्ट, रड, ट्रस, जस्तापाता, इँटा बालुवा गिटी सहयोग गरेका थिए।