झापा : सामाजिक कार्यमा सक्रिय संस्था सुन्दर समाज नेपाल दमकले झापाको कमल गाउँपालिका वडा नं ५ टुकुरे टोलका दुई विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

महिलाहरू मात्रै आबद्ध रहेको संस्थाका पदाधिकारी र सदस्यहरू घरमै पुगेर आर्थिक रूपमा विपन्न दुई परिवारलाई ५० केजीका दरले चामल, तेल, दाल लगायतका खाद्यान्न तथा अन्य घरायसी सामाग्रीहरू हस्तान्तरण गरेका हुन् । स्थानीय सङ्गीता राई र रत्ना विकको परिवारलाई घर घरमै पुगेर सो सहयोग सामाग्री हस्तान्तरण गरिएको संस्थाकी अध्यक्ष रुपा सेलिङले बताइन् ।

उक्त सहयोग अध्यक्षसहित संस्थाकी वरिष्ठ उपाध्यक्ष जमुना सेर्मा, उपाध्यक्ष विन्दु (लक्की) सिटौला, सचिव गङ्गा ढकाल, सहसचिव मनु साम्पाङ र कोषाध्यक्ष झरना लक्सम तथा सदस्यहरू अनु ताजपुरिया , विमला जोशी, कुसुम ढुङ्गेल, पुनम सुब्बा र दिपाले व्यक्तिगत रूपमा रकम जुटाएका हुन् ।

ती दुवै महिलाका पतिको निधन भएको र छोरीहरूको दैनिक छाक टार्नै समस्या भएको अवस्थालाई मध्यनजर गर्दै सो सहयोग प्रदान गरिएको संस्थाकी उपाध्यक्ष लक्की सिटौलाले बताइन । सो संस्थाले सङ्गीता राईको परिवारको बसोबासका लागि सुरक्षित आवासको समेत बन्दोबस्ती गर्ने विषयमा छलफल गरिरहेको उनले बताइन् ।