झापा : स्थानीय तहको निर्वाचनका बेला गाउँ गाउँमा सिंहदरबारको नारा दिएर नागरिकलाई खुसी बनाईएपनि निर्वाचन पश्चात् नागरिक आजित हुने क्रम भने रोकिएको छैन । विभिन्न बहानामा विविध चलखेल बाहिरिने गरेको छ।

पछिल्लो पटक भने मृत्यु भएका व्यक्तिको नाममा बृद्ध भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर कर्मचारीले झ्वाम पारेको गरेको पाईएपछि झापाको गौरीगञ्ज गाउँपालिका भित्रको मनपरी छताछुल्ल भएको छ।

वर्षौ अघि मृत्यु भइसकेका व्यक्तिहरूको नाममा समेत गौरीगञ्जका विभिन्न वडा कार्यालयहरूले रकम निकासा गरिरहेको रहस्य बाहिरिएको हो ।

महालेखा परीक्षकको आर्थिक वर्ष २०७६/७७ को प्रारम्भिक प्रतिवेदनमा मृत्यु भइसकेका २६ जनाको नामबाट विभिन्न वडाहरूले बृद्धा भत्ता, एकल महिला भत्ता लगायतका सामाजिक सुरक्षा भत्ता रकम निकासा गरेर वितरण गरेको देखाएकोमा महालेखा परीक्षकले आब ०७६/७७ मा रु ३ लाख ७३ हजार रुपैंया बेरुजु देखाएको छ ।

वडा नं. १ ले २ जना, वडा नं. २ ले ४ जना, वडा नं. ३ ले ११ जना, वडा नं. ४ ले ५ जना र वडा नं. ६ ले ४ जना मृतक ज्येष्ठ नागरिक तथा एकल महिलाको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको देखिएको छ।

वडा नं २ मा त अझ २०७० सालमै मृत्यु भइसकेको एक जना एकल महिला र २०७४ सालमा मृत्यु भइसकेका एक जना को नाममा २०७७ सालसम्म सामाजिक सुरक्षा भत्ता निकासा गर्दै आएको भेटिएको छ।

बेरुजु देखिएको रकम वडाका सम्बन्धित कर्मचारीहरूबाट भराउने तयारी भइरहेको श्रोत बताछ।  यस अघि विभिन्न बहाना बनाउँदै वडाका कर्मचारीहरूले केही व्यक्तिहरूको मृत्यु दर्ता गर्न समेत आलटाल गर्ने गरेको गुनासाहरू आइरहेका थिए ।