धरान : कोरोना महामारीको बिचमा पनि आज धरानमा मारवाडी मिड यूथ धरानले आयोजना गरेको रक्तदान कार्यक्रममा २ सय ३ पिन्ट रगत संकलन भएको छ ।

मारवाडी मिड यूथ धरानका संयोजक अनिल कुमार अग्रवालले भने‘ १ सय ५० पिन्ट रगत संकलन गर्ने लक्ष थियो । २ सय ३ भयो जसमा महिला पुरुष दुवैको राम्रो उपस्थित रहेको थियो । ’

कोरोना महामारीले गर्दा प्रदेश १ का अस्पतालहरूमा बिरामीले रगत नपाएर अकालमा ज्यान गुमाउन थालेपछि समाजले युवाहरूलाई भेला गरी भानुचोकमा रक्तदान गरेको हो ।

प्रदेश १ का ब्लड बैङ्कहरूमा रगतको चरम अभाव भइरहेको र यसले बिरामीहरूको उपचारमा गम्भीर समस्या परेको थाहा पाए पछि मारवाडी युथले बिरामीहरूको उपचारमा सहज होस् भनेर रक्तदान गरिएको संयोजक अग्रवालले बताए ।

रेडक्रस सुनसरीका सभापति उमेश थापाले प्रदेश १ मा रगतको चरम अभाव भइरहेको बेला रक्तदान गरी सहयोग गरेको भन्दै रक्तदान गर्नेहरूलाई धन्यवाद दिए । उनले अन्य राजनैतिक दल र सामाजिक संघसंथहरुलाई समेत रक्तदान गर्न र बिरामीको उपचारमा सहज बनाउन आव्हान गरे ।

प्रदेश १ का धरान, विराटनगर र झापामा रहेका ब्लड बैङ्कहरूमा विभिन्न समूहको रगत अभाव हुँदा बिरामीको उपचारमा गम्भीर समस्या भइरहेको चिकित्सकहरूले बताएका छन् ।

मारवाडी युथले पहिलो लकडाउन सुरु भए देखि नै विभिन्न सामाजिक कार्य गदै आएको छ । रक्तदान कार्यक्रममा धरानका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारीको पनि उपस्थित रहेको थियो ।