धरान : नेपाल सरकारले खोप किन्न अनुमति दिए धराने जनताको लागी पर्याप्त खोप खरिद गर्न तयार भएको मेयर तिलक राईले बताएका छन् । धरान उपमहानगरपालिकाका मेयर राईले सङ्घीय सरकारले अहिलेसम्म स्थानीय तहमा अनुमति प्रदान नगरेको कारण खोप लगाउन ढिलाइ भएको बताए।

‘नेपाल सरकारले नसक्ने भए हामी आफै खोप किन्छौ । जनताको ज्यानभन्दा ठुलो अर्को विकास हुँदैन । खोप किन्ने अनुमति मात्र पाउनुपर्‍यो’ उनले भने । यस अघि नेपाल सरकार समक्ष लिखित अनुमति माग गरे पनि कुनै पनि प्रतिक्रिया नआएको उनले सुनाए।

गत जेठ १७ मा उपमहानगरपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय मार्फत खोप किन्ने अनुमति माग गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय काठमाडौँ, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सामाजिक विकास मन्त्रालय १ नं प्रदेश विराटनगरमा बोधार्थ सहितको पत्र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाएको हो।

कोरोना रोकथाम तथा नियन्त्रण गर्न खोप मात्र अन्तिम विकल्प भएको भन्दै मेयर राईले १८ वर्षमाथिका एक लाख नागरिकलाई उपमहानगरपालिकाको आफ्नै स्रोतबाट खोप लगाउने योजना बनाएको बताए । धरानमा २ लाख मात्रा खोप आवश्यक पर्ने भएको भन्दै स्वीकृति प्रदान गर्न उनले माग गरेका छन्।

खोपको लागी अनुमति पाए आगामी आर्थिक वर्षको बजेटमा समेत खोप खरिदलाई प्राथमिकता दिइने उनले बताए।

धरान सँगै बेलबारी नगरपालिकाले कोभिड-१९विरुद्धको खोप खरिदका लागि स्वास्थ्य तथा जनसखा मन्त्रालयसँग अनुमति माग गरेको थियो । नगरपालिकाले आफ्ना नागरिकका लागि ८० हजार डोज खोप आफैँ खरिद गर्ने जनाउँदै मन्त्रालयमा पत्राचार गरेको हो ।

मेयर ज्ञानेन्द्र सुबेदीका अनुसार दुई चरणमा खोप उपलब्ध गराइदिन भन्दै माग गरिएको छ । मन्त्रालयले स्वीकृति दिए लगत्तै प्रक्रिया अगाडी बढाएर खोप ल्याइने उनले बताए ।  जनता बचाउन जसरी भए पनि खोप किन्नै पर्ने बाध्यता भैसकेको भन्दै उनले त्यसका लागि मन्त्रालयसँग छलफल भइरहेको जानकारी दिए ।

त्यस्तै जेठ १५ गते नै झापाको मेचीनगर नगरपालिकाले पनि कोरोना खोप किन्नका लागि सङ्घीय सरकारसँग अनुमति माग गरे पनि अहिलेसम्म अनुमति पाउन सकेको छैन । मेयर विमल आचार्यका अनुसार सङ्घीय सरकारले नीतिगत रूपमै स्थानीय तहले खोप किन्न पाउने व्यवस्था मिलाउन माग गरिएको हो ।

कोभिड-१९ का कारण जनताले मृत्युवरण गर्न बाध्य हुनु नपरोस् भनेर नगरवासीको जीवन रक्षाका लागि आफ्नै स्रोतबाट खोप किन्ने तयारी गरेको उनको भनाई छ । नगर कार्यपालिकाको बैठक बाट नै निर्णय गरेर खोप खरिद गर्ने अनुमति माग गरिएको उनले बताए।