झापा : व्यावसायिक पशुपालन गरिरहेका शिवसताक्षी-६ का अधिकांश कृषकको पशु बीमा गराइदिएपछि वडा कार्यपालिकासँग उनीहरू खुसी छन्। वडामा जुनसुकै योजना अन्य वडा भन्दा विल्कुलै फरक हुने गरेको स्थानीय बासिन्दाले बताएका छन्।

वडाअध्यक्ष मनोज खुलाल कार्कीले पशुपालनमा प्रोत्साहन र वडाका बासिन्दाको आयआर्जन वृद्धि गराउन राहतका कार्यक्रम ल्याएपछि अब किसान पशुपालनमा आकर्षित भए। वडामा 'एक घर एक पशु बीमा' कार्यक्रम लागु भएको छ। यो कार्यक्रम जिल्लामा संभवत पहिलो हो। किसान भन्छन्, ‘वडाले चौपायाको बीमा गरेपछि अब गोठैभरी पशु पालेर आयआर्जन बढाइन्छ।’

वडाले सार्वजनिक सूचना प्रकाशित गरेर ‘एक घर एक पशु बीमा’ कार्यक्रममा सहभागी हुन वडाका बासिन्दालाई आव्हान गरेको थियो। वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार वडाको यो कार्यक्रममा १६० घर परिवारका सदस्य सहभागी भएका छन्। सहभागी भएका मध्ये किसानले गाई, भैँसी, बाख्रा, बङ्गुर लगायतका पशुको बिमा गरेको वडा अध्यक्ष खुलालले बताए । पशुको बीमा गरेबापतको लाग्ने शुल्क वडा कार्यालयले बिमा कम्पनीलाई भुक्तानी दिन्छ।

शर्मिला विकले पालेको भैँसी डेढ लाख मूल्यको छ। पशु प्राविधिकको सिफारिसमा १ लाख मूल्यको भैँसीको बिमा उनले गराइन्। १ लाख ५० हजारमा गत वर्ष मात्र छिमेकीबाट किनेर ल्याएकी शर्मिलाको भैँसीले दिनमा १६ लिटर दूध दिन्छ। उनले २ लिटर दूध घरमा खपत हुने र बाँकी १४ लिटर दूध बजारमा बिक्रीका लागि लैजाने गरेको बताइन्। ‘यत्रो मूल्य हालेर भैँसी किनेको छु। थम कदाचित भैँसी मरिहाल्यो भने त मेरो लगानी चुर्लुम्म डुविहाल्छनी, उनले भनिन् ‘रिक्स कभरका लागि बिमा गरेकी हुँ। बिमा गरेपछि कम्पनीले रिक्स व्यहोर्छ नि।’

वडाको बस्तीका अधिकांश किसानका घरमा उन्नत जातका गाई छन्। २२ लिटर सम्म दूध दिने खालका गाई किसानले पालेका छन्। चन्द्र डाँगी विउविजन केन्द्रमा केही वर्ष पहिले नश्ल सुधारका लागि राखिएको बिउ साढेका कारण बस्तीमा उन्नत जातका गाई पालन फस्टाएका छन्। उक्त बिउ साँढे यति वेला मासिएको छ।

भानुभक्त निरौलाका घरमा होलिस्टेन क्रस जातको गाई छ। बजारमा ९५ हजार सम्म मूल्य पर्न जान्छ। शनिवार वडा कार्यालयबाट खटिएको टोलीले गाईको ७५ हजारको बिमा गर्‍यो। भानुभक्तले भने, ‘बिमा गरेबापतको लाग्ने शुल्क वडाले तिरिदिएपछि किसानको दुवै हातमा लड्डु पर्‍यो। नत बिमा रकम तिर्नु पर्‍यो नत कुनै रिक्स नै लिनु पर्‍यो।’ ‘डिप्लोमेटिक’ वडा अध्यक्ष भएकैले किसानले राहत पाएका हुन्।’

निरौलाका अनुसार, गाईको बिमा गर्नुहोस् भन्दै पहिला धेरै बिमा कम्पनी आएका थिए । कुरा नबुझिएपछि किसानले बिमा गरेनन्। निरौलाले भने, ‘वडाले कुरा बुझाएर आफै बिमा गरिदिएपछि वडाको योजना हाम्रा लागि निकै फलदायी बन्यो ।’ वडाका किसानले पालेका पशुको बिमा एनएलजी कम्पनीले गरिरहेको छ । कम्पनीका अभिकर्ता लक्ष्मीप्रसाद नेपालले भने, ‘वडाका १६० पशुको बिमा भएको छ।’ पशुको स्वास्थ्य परीक्षण स्थानीय पशु प्राविधिक प्रेमबहादुर पौडेलले गरेको वडा कार्यालयले जनाएको छ।

वडाले आव्हान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा किसानले पालेका पशुको बिमा गरिएको हो । यो कार्यक्रमकालागि वडाले चालु आवमा १ लाख बजेट वडा सिलिङबाट छुट्याएको थियो । त्यै रकमबाट योजना सञ्चालन भएको वडा अध्यक्ष खुलाले बताए । उनका अनुसार किसानको हौसला र उत्साहले आगामी वर्षमा पनि यो कार्यक्रमले निरन्तरता पाउने छ।

गाउँ गाउँमा वडा अध्यक्ष सहित पशु बिमाका लागि बिमा कम्पनी किसानको गोठगोठमा पुग्ने गरेका छन् । घरघरै पुगेर वडाले आफ्ना नयाँ कार्यक्रमबारे जानकारी गराउन थालेपछि किसान पनि पशु बिमाप्रति आकर्षित हुन थालेको वडा अध्यक्ष खुलालले बताए । निवेदन गर्न छुटेकाको दाँतमा ढुङ्गा लागे जस्तो भएको स्थानीयले बताए।

पशु बिमा गरेपछि एक वर्षभित्र पशु मरेमा बिमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर दिन्छ।

व्यावसायिक रूपमा पशु पालक किसानले बिमा गरेपछि पशुमा लाग्ने महामारी रोगबाट हुने क्षतिको सामना गर्नु पर्दैन । व्यवसायमा गरेको लगानी खेर जानबाट जोगिन पशुमा गरेको बिमा धेरै प्रभावकारी भएको किसानको भनाइ छ। बिमा गरेका पशु दुर्घटना, रोग तथा महामारीबाट मरेको खण्डमा बिमा कम्पनी घरमै पुगेर दाबी भुक्तानी दिने कम्पनीका एनएलजी कम्पनीका प्रतिनिधि लक्ष्मीप्रसाद नेपालले बताए।

पशुपालनको जोखिम घटाउन, किसानलाई पशुपालन तर्फ प्रोत्साहन गर्न, नश्ल सुधार गर्न, वडालाई दूध, दही मोही आत्मनिर्भर बनाउनका लागि वडामा बिमा कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष खुलाले जानकारी दिए।

पशु बिमा गर्दा बिमा कम्पनीले सिरियल नम्बरसहितको ट्याग पशुका कानमा लगाइदिन्छन् । बिमा दाबी भुक्तानी लिन किसानले पशु मरेको बारे तीन दिनभित्र कम्पनीमा जानकारी दिनुपर्ने कानुनी व्यवस्था छ।

मरेको पशु गाढेको वा जलाएको प्रमाणसहित पशु प्राविधिकको सिफारिस पत्र कम्पनीमा पेस गरेपछि कम्पनीले दाबी भुक्तानी दिने व्यवस्था छ। ‘बिमा प्रक्रियाबारे नबुझेर कतिपय किसान अलमलमा परेको शिवसताक्षी नगरको पशु स्वास्थ्य शाखाले जनाएको छ।