धरान : मोरङको रतुवामाई नगरपालिका–१० बाट वनको कर्मचारी तथा पत्रकार हौ भनी रकम ठगी गर्ने २ जनालाई इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका–६ जुटबिकास का ५० वर्षीय दधिराम चौहान र मोरङ सुन्दरहरैचा नगरपालिका ७ का ५६ वर्षीय पुष्प प्रसाद सिग्देल रहेका छन् ।

गत असार ४ गते बेलुका ६ बजे रतुवामाई १० मा रहेको पूर्ण बहादुर श्रेष्ठको माईवेनी स–मिलबाट रकम उठाउन आएको बेला प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूको साथबाट नगद रु.३२ हजार ९ सय ९५ रुपैयाँ, सृष्टि साप्ताहिक तथा सन्देश दैनिक समाचार पत्र लेखिएको रसिद प्याड थान–१, उठाएको रकम अभिलेख भएको डायरी थान–१, कान्तिपुर पोस्टको बजार व्यवस्थापक परिचय पत्र थान–१, जनमत साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१, बराह साप्ताहिकको सम्वाददाता परिचय पत्र थान–१ बरामद भएको छ ।

बरामद भएको रकम अभिलेख डायरीमा मोरङको विभिन्न स्थानमा बस्ने २५ जनाबाट जनही १ हजार देखी ११ हजार ५ सय सम्म उठाएको उल्लेख गरिएको छ ।

उनीहरूले हामी बनको कर्मचारी र पत्रकार हौँ कार्यालयमा तेलको आवश्यक छ सहयोग गर्नुहोस् अन्यथा तपाईँहरूलाई काम गर्न अप्ठेरो हुनेछ भन्ने डर त्रास देखाई विभिन्न काठ मिलहरूमा रकम उठाई ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका द्वय चौहान र सिग्देल माथि ठगी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

Thagi-1