धरान : गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिक सहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरी देवानगन्ज-१ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका-१ का ३२ वर्षीय रुद्र राई र धरान उपमहानगरपालिका-१३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई रहेका छन् ।

यसै गरी भारतीय नागरिक भारत अररिया फार्बिजगन्ज का १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुर का ३० वर्षीय रञ्जित भन्ने प्रिन्स विचितर कुमार रहेका छन् ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । उनीहरूको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतीय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोबाइल थान-६ फेला पारी बरामद गरेको छ ।

प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गाँजा ओसार पसारमा प्रयोग गरेको को १ च २४१२ नम्बरको मारुती भ्यान र उनीहरूले विराटनगर महानगरपालिका ६ रामपुर स्थित झाँडीमा लुकाई छिपाई राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सूर्य राई भ्यान चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना माथि लागूऔषध कसुरमा थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।