धरान : सुनसरीका युवा व्यापारी आशिष् प्याकुरेललाई ललितपुर जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान गरेको छ ।

२६ वर्षीय प्याकुरेललाई ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।

ललितपुर महालक्ष्मी नगरपालिका–४ ईमाडोल शितलहाईट डेरा गरी बस्ने सुनसरी रामधुनी नगरपालिका–१ ठेगाना भएका लाइफ लाइन सर्किजल हाउसका प्याकुरेललाई गत जेठमा प्रहरीले पक्राउ गरेको थियो ।

प्याकुरेलले उत्पादन गरेको स्यानिटाइजर औषधि व्यवस्था विभागको ल्याबमा परीक्षण गर्दा २२ प्रतिशतसम्म मानव स्वास्थ्यका लागि हानिकारक मिथानोल अल्कोहल प्रयोग भएको पुष्टि भएपछि ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. ४ बाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

प्याकुरेल शितलहाईटमा घर भाडामा लिई औषधि व्यवस्था विभागमा दर्ता नगरी ‘रिप्याक्ट बाई आरसिबि ईण्डस्ट्रिज पर्सा’, नेपाल उल्लेख गरिएको नक्कली स्टिकर प्रयोग गरी स्यानिटाइजर तयारी तथा प्याकिङ गरी विक्री गर्दै आएका थिए ।

करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, २ हजार लिटर मिथानोल रसायन, ३ हजार ६ सय लिटर ETHYNIL रसायन, विभिन्न स्टिकरहरू र त्रिपुरेश्वरस्थित लाइफ लाइन सर्किजल सप्लायर्सबाट करिब ५ हजार लिटर स्यानिटाइजर प्रहरीले बरामद गरेको छ । बरामद भएका स्यानिटाइजरको बजार मूल्य करिब १ करोड ८० लाख रुपैयाँ मूल्य बराबरको रहेको छ।

कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिको फाइदा उठाउँदै आम सर्वसाधारणको स्वास्थ्यमा प्रतिकूल असर पार्ने ‘७५ प्रतिशत ह्याण्ड स्यानिटाइजर’ बजारमा खुलेआम विक्री वितरण भइरहेको पाइए पछि त्यस्ता स्यानिटाइजरको गुणस्तर जाँचका लागि औषधि व्यवस्था विभागको प्रयोगशालामा परीक्षणको लागि पठाइएकोमा उक्त स्यानिटाइजर मिथानोल रसायन २४ प्रतिशत भेटिएको थियो ।

स्यानिटाइजरमा प्रयोग भएको रसायनले मानव स्वास्थ्यमा घातक असर गर्ने भएकोले तत्काल उक्त उत्पादन माथि नियन्त्रण गर्नु पर्ने जरुरी रहेको भन्ने औषधि व्यवस्था विभागबाट परीक्षण रिपोर्ट प्राप्त हुनासाथ उक्त सर्किजल हाउस औषधि व्यवस्था विभाग तथा जिल्ला प्रशासन कार्यालय ललितपुरको रोहवरमा सिल गर्नुका साथै बजारमा विक्री वितरण हुन नदिन प्रहरीले सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गरिरहेको छ ।

आशिषलाई कालो बजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत कारबाही भएको छ । उनले कति मूल्य बराबरका स्यानिटाइजर बिक्री गरे भन्ने यकिन तथ्याङ्क प्रहरीले दिन सकेको छैन ।

प्याकुरेलविरुद्ध श्रीमतीद्वारा वैवाहिक बलात्कार सम्बन्धी उजुरी
प्याकुरेलमाथि यसअघि महिला हिंसाको उजुरी परेकाले प्रहरीले पक्राउ गरी अनुसन्धान गरेको थियो । उनले आफ्नै श्रीमतीमाथि हिंसा गरेको भन्दै यसअघि गत वर्ष प्रहरीमा उजुरी परेको थियो ।

श्रीमतीले आशिषमाथी जबरजस्ती करणीको उजुरी हालेपछि महानगरीय प्रहरी वृत्त सातदोबाटोले गत असोज ९ गते पक्राउ गरेको थियो ।

ललितपुर जिल्ला अदालतमा भएको बन्द इजलासको बहसमा जिल्ला न्यायाधीश रानाभाटको एकल इजलासले प्याकुरेललाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो ।