विराटनगर : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरू नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकार प्रतिको विश्वास क्षीण हुँदै गएको आरोप लगाएका छन् ।

आइतबार नेपाल प्रेस युनियन ओखलढुङ्गाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करहरूको घेराबन्दीबाट बाहिर निस्कनै नसकेको आरोप लगाएका हुन ।

उनले भने,“घेराबन्दीमा भित्र रहेर विकास निर्माण, कोभिड नियन्त्रण स्वास्थ्य सामग्री र औषधि खरिदमा ठुलो अनियमितता भएको छ । खोपको समानुपातिक वितरण हुन सकेको छैन कात्रो किन्न समेत सेटिङ मिलाएर कमिसनको चक्करमा लागेको देखिन्छ ।” उनले प्रदेश एक आर्थिक, सामाजिक, भौगोलिक, पर्यटकीय, धार्मिक, जातीय तथा भाषिक हिसाबले देशकै एक नम्बरमा आउने सम्भावना बोकेको भए पनि सरकारको कार्यशैलीले सम्भावना कमजोर भएको सुनाए ।

सरकारमा रहेको दलभित्र एक समूहले अर्कोलाई पाखा लगाएर चलखेलमा विकाससँग सम्बन्धित ठेक्कापट्टा दिने गरिएको बताउँदै भने,“मुख्यमन्त्री जनताको सेवक भन्दा पनि शासक बन्न थालेकाले धेरै कार्यक्रम मुख्यमन्त्रीका नाममा ल्याइएको छ ।

आफू निकटका कार्यकर्ताको भरपोषणमा केन्द्रित हुने गरी आएका कार्यक्रमले जनताको जनजीविकामा फरक परेको छैन ।” उनले प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटसमेत भैँसीलाई एक मुठ्ठी चामल दिएर अघाउन लगाएको जस्तो भएको भन्दै टिप्पणी गरे ।

प्रदेश नम्वर १ का भौतिक पूर्वाधार मन्त्री आफ्नो वडामा अलमलिएको भन्दै कार्कीले मन्त्रीले प्रदेशभित्र अरू जिल्ला र आफ्नै जिल्लामा समेत अन्य स्थानीय तह तथा वडाहरू छन् भन्ने हेक्का नराखेको पाइएको आरोप लगाए ।

भने,“प्रदेशका मन्त्रीहरू आफ्नै वडाहरूमा अलमलिने हो भने त्यस्ता मन्त्रीले सिङ्गो प्रदेशको नेतृत्व कसरी गर्छन् । विकास र बजेट आफ्नो वडामा खन्याउनेले प्रदेशको बृहत्तर विकासबारे सोच्न सक्लान् ?” कार्कीले वडा मात्र सीमित हुने भए वडाको अध्यक्ष भएर बस्न प्रदेशका मन्त्रीलाई सुझाव दिएका छन् ।

अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको सरकारले प्रदेशका जनताको भावना बुझ्नु नसक्ने र एमालेभित्रकै आन्तरिक कलहलाई व्यवस्थापन गर्न नसक्दा बहुमतको प्रदेश सरकार केही समयभित्रै समाप्त हुने कार्कीले ठोकुवा गरे ।

काँग्रेस राजनीतिबारे बोल्दै उनले भदौ १९ सम्ममा नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अनिवार्य गर्नु पर्ने भएकोले लोकतन्त्र र पार्टीलाई सशक्त बनाउने नेतृत्वको खोजी भइरहेको बताए ।