इटहरी : इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमले सहिद आवासीय विद्यालयमा भएको भ्रष्टाचार छानबिनमा अध्यक्ष मणिराम गिरी बाधक भएको बताएकी छिन्। छानबिन गर्न बनेको कार्यदलले आवश्यक कागजात माग गर्दा नदिएर अध्यक्ष गिरीले गैरजिम्मेवारीपन प्रस्तुत गरेको उनले बताइन।

सहिद आवासीय विद्यालयमा भ्रष्टाचार भएको भन्दै ४ महिना देखी आन्दोलन जारी छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गिरीको संलग्नतामा भ्रष्टाचार भएको भन्दै स्थानीय युवा तथा अनेरास्ववियुले तालाबन्दी गरेको लामो समय बितिसक्दा समेत समस्या समाधान हुन सकेको छैन। गिरीको नाममा ८० लाखको बेरुजु देखिएको भन्दै स्थानीय युवाले आन्दोलन चर्काएका हुन् । उनीहरूले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखी जिल्ला प्रशासन कार्यालयमा समेत निवेदन दिएका छन्।

समस्या समाधान गर्न बनेको कार्यदलले समेत कुनै निष्कर्ष निकाल्न सकेको छैन । उपमेयर गौतमको संयोजकत्वमा बनेको कार्यदलले आवश्यक कागजात नपाएपछि छानबिन गर्न नपाएको बताएको छ। उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख, जिल्ला प्रशासन कार्यालयका अधिकारी, जिल्ला शिक्षा समितिका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, र १९ नम्बर वडाका वडाध्यक्ष सहितको समितिले प्रतिवेदन बुझाउने भनीएपनि अहिलेसम्म अध्ययन गर्न पाएको छैन।

उपमेयर तथा समिति संयोजक गौतमका अनुसार अध्यक्ष गिरी आफै छानबिन बाट भाग्दै डकुमेन्ट लुकाउन लागी परेका छन् । लामो समय देखी लागेको तालाबन्दी खोल्ने र आन्तरिक मुल्याङकन परीक्षा गर्ने वातावरण मिलाउन आफूहरूले पहल गर्दा अध्यक्ष आफै पन्छिएको उनले बताइन्।

बिना जानकारी प्रधानाध्यापक शिवचन्द्र राई र लेखापाल लीलाराज काफ्लेलाई जिम्मेवारी बाट हटाइएपछि समस्या बढ्दै गएको हो। 'प्रअ राई र लेखापाल काफ्लेको कोठामा समेत तालाबन्दी गरिएको रहेछ। सोही विषयलाई लिएर प्रअ, लेखापाल, आन्दोलनरत समूह र व्यवस्थापन समिति बिच वार्ता भयो। सबै डकुमेन्ट लिएर छानबिन गर्ने सहमति भयो।,” उपमेयर गौतमले भनिन् , 'सहमति अनुसार नै कारबाही गरेको प्रमाण पनि आवश्यक पर्ने भएपछि अध्यक्ष गिरीको घरबाट सो कागज पनि मगायौ । सो दिन साँझ परेकाले भोलिपल्ट सबै डकुमेन्ट एकै पटक ल्याउने सहमति सहित हामी आफैले चाबी लगाएर फर्क्यौ। तर भोलिपल्ट अध्यक्ष गिरी अरू डकुमेन्ट दिन नसक्ने र आफूलाई धम्की आएको भन्दै उपमहानगरपालिकामा आउनुभयो । त्यसपछि छानबिन पनि रोकियो । हामीले फोटोकपी गर्न लगेको उपमहानगरपालिकाको मेसिन पनि त्यही थुनिएको छ।”

Sahid-School

आफूहरूले सहमतिमै छानबिन अवधिभर ताला लगाएको उनले बताइन्। अध्यक्ष गिरीले रकम निकासा गरिनुपर्ने माग गरेको स्मरण गराउँदै उनले बिल भरपाई नबुझाई बाकी पैसा निकासा नहुने जानकारी दिइन् ।
जेठ ४ गते विज्ञप्ति जारी गर्दै अध्यक्ष गिरीले उपमेयर गौतम आफैले तालाबन्दी गर्न लगाएको आरोप लगाएका छन्। आफू भ्रष्टाचार छानबिनमा सहयोग गर्ने भन्दै विद्यालयमा राजनीतिक चलखेल बढाउन नहुने तर्क गरेका छन्।

सङ्घर्ष समितिबाट लगाइएको ताला खोलिनुपर्ने, विद्यालयको रोक्का गरिएको बैङ्क खाता फुकुवा गरिनुपर्ने, विद्यालयको लागि आएको अनुदान तुरुन्तै निकासा गर्नुपर्ने, विद्यालयमा कुनै न कुनै प्रकारले गरिने दलिए हस्तक्षेप बन्द गर्नुपर्ने, विद्यालयका शिक्षक कर्मचारी तथा विद्यार्थीहरूलाई शान्ति सुरक्षा प्रदान गर्दै भय रहित वातावरण कायम हुनुपर्ने जस्ता माग सहितको विज्ञप्ति जारी गरेका हुन्।