धरान : धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमित बिरामीको कालोढुसी प्रदेश १ मै पहिलो पटक सफलतापूर्वक शल्यक्रिया गरिएको छ ।

प्रतिष्ठानले दिएको जानकारी अनुसार हालसालै कालोढुसी सङ्क्रमित एक बिरामीको जटिल शल्यक्रिया प्रतिष्ठानमा सफलतापूर्वक सम्पन्न गरिएको छ ।

नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. शङ्कर प्रसाद साहको नेतृत्वमा डा. राजन मुल्मी, एनेस्थेसिया विभागबाट प्रा.डा. वीरेन्द्र प्रसाद साह, प्रा.डा. कृष्णा पोखरेल, डा. जेनी बज्राचार्य, नर्सहरू सरिता ठाकुर, रेणुका राजवंशी तथा हेल्पर दुर्गा बीकको टोलीले उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । यस किसिमको शल्यक्रिया प्रदेश १ मै यो पहिलो रहेको प्रतिष्ठानले दाबी गरेको छ ।

काठमाडौँका एक ६१ वर्षीय पुरुषको जेठ १३ गतेका दिन अनुहारको देब्रे पाटो सुन्निएको र दुखेको साथै देब्रे आँखा पनि रातो भएको समस्या लिएर प्रतिष्ठानको नाक, कान तथा घाँटी विभागको ओपीडीमा जचाउन आएका थिए ।

उनीमा यो समस्या प्रतिष्ठान आउनुभन्दा ७ दिन अगाडीदेखि सुरु भएको थियो । उनमा उच्च रक्तचाप र सुगरको पनि बिरामी थिए । उनी कोरोना सङ्क्रमित भई काठमाडौँको वीर अस्पतालमा उपचार गरी निको भई प्रतिष्ठानमा आउनुभन्दा १० दिन अगाडी डिस्चार्ज भएका थिए ।

उपचारको क्रममा उनलाई त्यहाँ अक्सिजन थेरापी साथै स्टेरोइड दिइएको थियो । बिरामीको जाँच गर्ने क्रममा नाकको देब्रेपट्टिको प्वालभित्रको पछाडिको भाग सम्म कालो भई पिप जमेको अवस्थामा पाइएको थियो । सोही दिन उनलाई वार्डमा भर्ना गरी भोलिपल्ट जेठ १४ गते नै Emergency Endoscopic Surgical Debridement with left middle turbinectomy and posterior septectomy गरिएको थियो ।

शल्यक्रियाको क्रममा नाकभित्रको कालो भएको सो भागलाई निकाली ल्याब परीक्षण गर्न पठाइएको थियो । सो परीक्षणको रिपोर्टले उनमा कालो ढुसी (Mucormycosis/Black Fungus) को सङ्क्रमण भएको पुष्टि भएको थियो । कालो ढुसी (Mucormycosis/Black Fungus) एक प्रकारको घातक सङ्क्रमण हो । समयमा उपचार नपाए बिरामीको प्राणै पनि जान सक्ने प्रतिष्ठानले जनाएको छ ।

शल्यक्रिया पश्चात् बिरामीलाई थप उपचारका लागि प्रतिष्ठानको नाक, कान तथा घाँटी वार्डमा भर्ना गरिएको थियो । नाक, कान तथा घाँटी विभागका प्रा.डा. श्याम थापा क्षेत्री तथा सो विभागका अन्य विशेषज्ञ चिकित्सकहरूबाट नियमितरुपमा इण्डोस्कोपी तथा उपचार गरिएको थियो ।

उपचारको क्रममा मेडिसिन विभाग तथा आँखा विभागका विशेषज्ञ चिकित्सकहरूको पनि परामर्श लिई उपचार गरिएको थियो । स्वास्थ्य लाभ पश्चात् उनलाई असार ४ गते बेलुका डिस्चार्ज गरिएको प्रतिष्ठानका सह प्रवक्ता डा. चुडामणी पोखरेलले जानकारी दिएका छन् ।