झापा :स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि सडक सञ्जाल बिस्तार गर्ने कार्यले तीव्रता पायो । तर सडक सञ्जाल बिस्तार गर्दा सडकको बिचमै परेका बिजुलीका पोल भने अहिले पनि बिच सडकमै रहेका छन् । स्थानीय सरकार र बिद्युत प्राधिकरण बिच तालमेल नमिल्दा यस्तो समस्या आएको हो।

झापाको गौरादह-७ स्थित पुरानो ग्वालडुब्बा छेउको चौबाटोमा सडकको बिचमै पोल छ। पुरानो ग्वालडुब्बा मात्र हैन सोही वडाको मादल डाँडा, दहलु, ठकठके लगायतका अधिकांश भित्री सडकहरूमा बिजुलीका खम्बा सडकमा परेका छन् । बिशेषगरि मुख्य सडक भन्दा भित्री गाउँका सडकहरूमा बिद्युतका खम्बा सडकमा परेका हुन्।

स्थानीय सरकार र प्राधिकरण बिच तालमेल मिलेन

विद्युत प्राधिकरणले बिद्युत बिस्तार गर्दा सडक छेउमा खम्बा गाडेको थियो। तर स्थानीय सरकारले सडक सञ्जाल बिस्तार गर्ने क्रममा उक्त बिजुलीको पोलहरू बिच सडकमा परेका छन्। तर, अहिलेसम्म यी पोलहरू सार्न न त प्राधिकरणले चासो देखाएको छ न त स्थानीय सरकारले नै । बरु दुवै पक्ष एक अर्काको मुख ताकेर बसेका छन् ।

बिद्युत प्राधिकरण बिजुलीका खम्बा सार्न स्थानीय सरकार तिर औला तेर्स्याइरहेको छ । स्थानीय सरकारले सडक भित्र परेका खम्बाहरू सार्ने खर्च प्राधिकरणले ब्योहोरेको खण्डमा आफूहरू खम्बा सार्न तयार रहेको प्राधिकरण बताउँछ ।

स्थानीय सरकार आफूहरूसँग बजेट नै नभएकाले खर्च ब्योहोर्न तत्काल नसक्ने प्रतिक्रिया दिन्छ। गौरादह नगरपालिकाका प्रमुख रोहित कुमार शाहले बजेट भएको खण्डमा आफूहरू यो कार्यका लागि प्राधिकरणलाई साथ दिन तयार रहेको बताए ।

दुर्घटनाको जोखिम उच्च

स्थानीय सरकारले सडक बिस्तार गर्दा सडकमा परेका बिजुलीका खम्बाका कारण दुर्घटनाको जोखिम बढेको छ। सडक साँघुरो हुँदा सडक बाहिर रहेका खम्बा सडक बिस्तार हुँदा सडक भित्र परेका छन् । स्थानीय सरकारले आफ्नो पालिका भित्र रहेका सबै सडकहरू विस्तार गरी आवतजावतमा सहज बनाइरहेको छ। स्थानीय सरकारले सडक सञ्जाल बिस्तारकालागि ठुलो रकम खर्च गरेको छ। सडक साँघुरो हुँदा ठुला सवारी साधन आवात जावत गर्न समस्या आउन नदिन सडक विस्तार त गरियो। तर सडकको बिच भागमा पर्न गएका बिजुलीका खम्बा भने अहिलेसम्म सारिएको छैन ।

नागरिकलाई दुर्घटनाको जोखिमबाट बचाउन सडक भित्र रहेका खम्बाहरू तुरुन्त सारिनु पर्ने गौरादह नगरपालिका ७ का दुर्गा ढकाल बताउँछन् । दिउँसो उज्यालो हुने भएकाले दुर्घटनाको जोखिम नरहे पनि रातको समयमा दुर्घटनाको जोखिम हुने देखिन्छ ।

रातको समयमा दोहोरो सवारी साधन  हिँड्दा गाडीका लाइटका कारण सडकका खम्बामा गाडी ठोकिन गई गाउँमै आगलागी हुन सक्ने सम्भावनापनि उतिकै रहेको स्थानीयहरूको गुनासो छ ।