धरान : मोरङको सुन्दरहरैचा नगरपालिका-६ डिपुचोकबाट लागूऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन्दरहरैचा-५ का २६ वर्षीय गोपाल विश्वकर्मा रहेका छन् । हिजो दिउसो २ बजे लागूऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले विश्वकर्माले बोकेको ब्यागबाट डाइलेक्स डिसी १०० एमएलको २५ बोतल, नाइट्रोभेट-१०-४३५ ट्याब्लेट, र स्पामोप्रोक्सिभान प्लस -१४४ ट्याब्लेट बरामद भएको हो ।

पक्राउ परेका विश्वकर्मा माथि थप अनुसन्धान भइरहेको छ ।