धरान : नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के ४१७ एन म्युटेसन भेटिएको जनाएको छ।

मन्त्रालयका अनुसार नयाँ म्युटेशनलाई एवाई.१ नाम दिइएको छ ।यी भेरियन्टहरु बढी सङ्क्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनहरूबाट पाइएको मन्त्रालयले जनाएको छ।

हालसम्म यो म्युटेसन नेपालसहित विश्वका १० भन्दा बढी राष्ट्रहरूमा पुष्टि भइसकेको मन्त्रालयका सह प्रवक्ता समीर कुमार अधिकारीले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

यससँगै नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ को रूपमा अल्फा, डेल्टा र भेरियन्ट अफ इन्ट्रेस्टको रूपमा कप्पा भेरियन्ट पुष्टि भएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न भागबाट सङ्कलन गरिएका नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट छनौट गरी ४८ नमुना सङ्कलन गरेको थियो।

उक्त सङ्कलित नमुनाहरू विश्व स्वास्थ्य सङ्गठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा परीक्षण गर्दा ७४ नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ।

मन्त्रालयले डेल्टा भेरियन्टको नयाँ रूपको सङ्क्रमण रोक्नका लागि सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्ड पालना गर्नका लागि अपिल गरेको छ।

press-releae-new-varient