धरान : राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका पत्रकार सिद्धराज राई नियुक्त भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासङ्घ र प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सदस्यसमेत रहेका राईलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापाले राससको ४ बर्षे कार्यकाल रहेको महाप्रबन्धकमा तीन जना पत्रकारको नाम प्रस्ताव गरेकी थिइन् । प्रस्तावित नाममध्ये राईलाई नियुक्त गर्ने निर्णय भएको हो ।

धनकुटामा लामो समय पत्रकारिता गरी पाँच वर्षअघिबाट राई राजधानी काठमाडौँमा रहेर पत्रकारिता गर्दै थिए।

दुई दशक देखि पत्रकारिता गर्दै आएका राई धनकुटाबाट नेपाल समाचार पत्र दैनिक हुँदै नागरिक दैनिक र अहिले देखापढी डटकम अनलाइनमा कार्यरत थिए ।