धरान : प्रदेश १ को प्रहरी प्रमुख डिआइजी फेरिएका छन् ।

गृह मन्त्रालयले नेपाल प्रहरीका १६ जना डिआइजी सरुवाको क्रममा प्रदेश १ का डिआइजी ईश्वरबाबु कार्कीलाई प्रहरी प्रधान कार्यालय सरुवा गरिएको छ भने अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय प्रहरी महाशाखाका डिआइजी अरुणकुमार बिसीलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर पठाएको छ।

बिसी मोरङ जिल्लाको प्रहरी प्रमुख भएर यस भन्दा अघि काम गरेका थिए । बिसी मोरङ प्रहरी प्रमुख हुँदा ३३ केजी सुन तस्करी प्रकरणको ठुलो गिरोहको पर्दाफास भएको थियो । लुकाउन खोजिएको सो विषयमा अनुसन्धान अघि बढाएकै कारण उनी चर्चित बनेका थिए ।

मोरङमा नै रहँदा पण्डित श्री निवासमाथि गोली प्रहारको घटनाको समेत सफल अनुसन्धान गरेर गरेका थिए । मोरङमा रहँदा ठुला उद्योगीको भन्सार छली र हुन्डी कर्मचारीमाथिको कारबाहीका कारण पनि उनी चर्चामा रहन सफल बनेका थिए । अनुसन्धानमा सफल मानिएका उनलाई गृह मन्त्रालयले प्रदेश एकको जिम्मेवारी दिएको छ ।