धरान : मोरङ सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी-७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी-७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समीर चौधरी रहेका छन्।

सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको तिन जना सवार रहेको प्र.न.१-०२-०४५ प ३९७३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरूको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाइकल सहित प्रहरीले पक्राउ गरेको जनाएको छ।

यसै गरी सुनवर्सी नगरपालिका-८ विश्वकर्मा चौकबाट गएराती सवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका-४ का २५ वर्षीय प्रकाश लिम्बु र २० वर्षीय विमल तामाङ रहेका छन् । दक्षिणबाट आउँदै गरेको को ४ प ९१८० नम्बरको मोटरसाइकलमा सवार उनीहरूको साथबाट डाइजेल्याब १० पिस, फेनारगन १० पिस, आईपिल १० पिस र ट्रमोल २०० ट्याब्लेट फेला पारी मोटरसाइकल सहित पक्राउ गरिएको हो।

पक्राउ परेका ५ जना माथि इलाका प्रहरी कार्यालय रंगेलीमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।