धरान : कोभिड १९ अस्पताल बाहिर निर्माण भएको बिरामी कुरुवा घर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई हस्तान्तरण गरिएको छ । 

एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर हस्तान्तरण गरेको हो । अग्रवाल समाजका वयोवृद्ध ९३ वर्षीय महावीर प्रसाद अग्रवालले कुरुवा घर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमका अध्यक्ष समेत रहेका मेयर तिलक राईले कोभिड अस्पतालमा उपचाररत बिरामीको आफन्तहरूलाई कुनै पनि किसिमको समस्या नहोस् भनेर मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले कुरुवा घर निर्माण गरिदिएको बताए ।

बिरामीको आफन्तहरू अत्यन्तै अव्यवस्थित तरिकाले अस्पताल बाहिर बसेको गुनासो आएपछि शौचालय, स्नान घर सहितको कुरुवा घर निर्माण गरिएको जानकारी दिए । मेयर राईले यहाँ कुरुवा घर बनाउन पनि चुनौतीपूर्ण रहेको बताए ।

‘यहाँको गाउँको मान्छेहरूलाई मनाउन चुनौतीपूर्ण थियो । यो भन्दा अगाडी कोभिड अस्पताल बनाउँदा पनि समस्या थियो । यहाँ राख्न हुँदैन भनिरहेको थियो । हामीले मनायौँ’ मेयर राईले भने । मेयर राईले कुरुवाहरूको लागि सूचना बोर्ड राख्न प्रतिष्ठानलाई आग्रह गरेका छन् ।

‘कम्तीमा प्रतिष्ठानले, मैले अस्ति पनि भनेको थिए, एउटा सूचना बोर्ड राखिदिनुस् कुरुवाहरूको लागि, एउटा बिरामीका लागि कति जना कुरुवा बस्छ, ईन्ट्रि गराउनुस् नाम, को को बस्छ ? ब्रिफिङ गर्ने समय तालिका बनाउनुस्, कुरुवाको नाममा फटाहा मानिसहरू आउँला, कसैको सामान हराउँला,’ मेयर राईले भने ।

मेयर राईले मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभाले धरानमा थुप्रै सामाजिक कार्यहरू गरेको बताउँदै प्रशंसा पनि गरे ।

उपमेयर मञ्जु भण्डारीले बिरामीको आफन्तको लागि मारवाडी सेवा समितिले कुरुवा घर निर्माण गरेर परोपकारी कार्य गरेको बताइन् ।

अस्पतालमा उपचाररत बिरामीको सही ढङ्गबाट उपचार हुनुपर्नेमा पनि उनले जोड दिइन । कुरुवा घरलाई व्यवस्थित तरिकाले सञ्चालन गर्न पनि उनले सुझाव दिइन् । 

वीपी प्रतिष्ठानका निमित्त उपकुलपति एवं रेक्टर डा. गुरु खनालले कोभिड अस्पतालमा कुरुवा घर आवश्यक रहेको बताउँदै मारवाडी सेवा समिति र नेपाल अग्रवाल सभालाई धन्यवाद दिए । प्रतिष्ठानले अब कुरुवा घरको व्यवस्थित तरिकाले संरक्षण गरेर राख्ने बताए । 

मारवाडी सेवा समितिका अध्यक्ष अनिल अग्रवालले मेयर सावले हामीलाई आग्रह गरेपछि कुरुवा घर निर्माण गरिदिएको बताए । ‘सङ्क्रमितका आफन्तहरू कोभिड अस्पताल बाहिर बिजोग तरिकाले बस्नुपरेको गुनासो आएपछि मेयर साबको पहलमा व्यवस्थित कुरुवा घरसहित शौचालय, बाथरुम हामीले निर्माण गरी दिएका छौंं,’ उनले भने ।

उनले १८ फिट चौडाइ र ८० फिट लम्बाई भएको कुरुवा घर, १८ फिट चौडाइ र १२ फिट लम्बाई भएको शौचालयसहितको स्नान घर प्रतिष्ठानलाई हस्तान्तरण गरिएको जानकारी दिए  । १८ लाख रुपैयाँको लागतमा कुरुवा घर निर्माण गरिएको अध्यक्ष अग्रवालले जानकारी दिए  । उनले पनि कुरुवा घरलाई संरक्षण गरेर राख्न आग्रह गरे ।

प्रतिष्ठानका अस्पताल निर्देशक प्रा.डा.गौरीशङ्कर साह र रजिस्ट्रार प्रा.डा.मोहनचन्द्र रेग्मी, नेपाल अग्रवाल सभाका अध्यक्ष पवन अग्रवाल, धरान उपमहानगरपालिकाका कानुनी सल्लाहकार जेके साम्पाङ, न्यायिक समितिका सदस्य विकास बनेपालीको उपस्थितिमा कुरुवा घर हस्तान्तरण गरिएको थियो ।