धरान : धरान उपमहानगरपालिकाले धरान २० का किसानलाई मिनी ट्रिलर हस्तान्तरण गरेको छ ।

आज (मङ्गबार) उपमहानगरपालिका परिसरमा मेयर तिलक राईले धरान वडा नं. २० मा रहेको कोकाहा बहुउद्देश्यीय कृषि समूहका किसानलाई दुई थान मिनी ट्रिलर हस्तान्तरण गरेका हुन् ।

किसानलाई मेशिन हस्तान्तरण गर्दै मेयर राईले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारले धेरै भन्दा धेरै लागत साझेदारीमा किसानहरूलाई विभिन्न योजनाहरू हस्तान्तरण गरिरहेको बताए ।

‘विष्णुपादुकामा चक्लाबन्दी कार्यक्रम खेतको गराहरू सा–सानो गरा त्यसमा एक हल गोरु पनि नअट्ने, त्यसलाई चक्लाबन्दी गरेर, फाँटिलो बनाएर कम्तीमा मेशिनहरू चलाउन सक्ने, ट्याक्टरहरू चलाउन सक्ने गरी योजनाहरू अगाडी बढिरहेको छ,’ मेयर राईले भने ।

मेयर राईले केन्द्र, प्रदेश र उपमहानगरपालिकाको अनुदानको मात्रै भर पर्न नहुने भन्दै किसानले आफै पनि लगानी गर्नुपर्ने बताए । धरान उपमहानगरपालिकाले स्थानीय भड्डु धानलाई संरक्षण गर्नुपर्नेमा जोड दिए । आफू खाने मात्र हैन, बेच्ने गरी उत्पादन गरिनुपर्छ । मेशिनको सही सदुपयोग गरेर व्यावसायिक ख्यातितिर अगाडी बढ्न मेयर राईले आग्रह गरे ।

कृषि शाखाका अधिकृत नगेन्द्र तामाङले उपमहानगरपालिकामा सङ्घीय सरकारको सशर्त अनुदानको राष्ट्रिय महत्त्वको बाली प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पकेट कार्यक्रम अन्तर्गत किसानलाई खेत जोत्ने मेशिन उपलब्ध गराइएको जानकारी दिए ।

उनका अनुसार सङ्घीय सरकारबाट सशर्त अनुदान भनेर २० लाख रुपैयाँ बजेट आएको छ । राष्ट्रिय महत्त्वको बाली धान पकेट कार्यक्रम सञ्चालनका लागि उक्त बजेट आएको हो ।

दुई थान खेत जोत्ने मेशिन २ लाख रुपैयाँमा खरिद गरेर कोकाहा बहुउद्देश्यीय कृषि समूहलाई आज हस्तान्तरण गरेको उनले बताए । उक्त समूहमा १६ जना छन् । लाभान्वित घर परिवार सङ्ख्या ४० जना छन् ।

विष्णुपादुकाको २० हेक्टर जमिनमा भड्डु धान रोप्ने गरिएको उनले जानकारी दिए । ‘रैथाने बालीलाई संरक्षण गर्न किसानहरू लगायत उपमहानगरपालिकाको साझेदारीमा सञ्चालन भइरहेको छ,’ उनले भने ।

कृषि समूहका अध्यक्ष मच्छिन्द्र राईले उपमहानगरपालिकाको कृषि शाखाले धान पकेटको लागि खेत जोत्ने मेशिन मिनी ट्रिलर दिएको बताए ।

‘यसमा हामी धेरै खुसी प्रकट गर्न चाहान्छौं, किनभने, पितृसत्तात्मक खेतीपाती गर्दा विकास गर्न सकेका थिएनौँ, धेरै उत्पादन गर्न लाभान्वित हुने छौँ,’ उनले भने । उनले किसानहरूलाई केन्द्र, प्रदेश र स्थानीय सरकारले पहिचान गरेर हरेक क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।

Trilar