धरान : धरान उपमहानगरपालिकाको नवौँ नगरसभाको पुर्वसन्ध्यामा आज बसेको कार्यपालिका बैठकमा नीति तथा कार्यक्रम माथि छलफल नै नभई भोलि पुनः बस्ने गरी स्थगित भएको छ ।

भोलि हुने नगरसभाको अघिल्लो दिन आज कार्यपालिका बैठक बसेको थियो । उक्त नगरसभामा ल्याउन लागिएको नीति तथा कार्यक्रमको बारेमा कार्यपालिका सदस्यहरूलाई अहिले सम्म जानकारी नगरी बैठकमा उपमेयर मञ्जु भण्डारी सुवेदीले पेस गरेपछि बैठकमा सहभागी सदस्यहरूले नीति तथा कार्यक्रमको बारेमा वडाहरूलाई अग्रिम जानकारी नगराएको भन्दै असन्तुष्टि पोखेका थिए।

आजको कार्यपालिका बैठकमा बजेट सिलिङबारे छलफल हुने भनिए पनि नीति तथा कार्यक्रम मात्रै पेस भयो। नीति तथा कार्यक्रमको बारेमा कार्यपालिका सदस्यहरूलाई पूर्व जानकारी नदिएको र नगरसभाको तयारी पुरा नभएको भन्दै आजको बैठक भोलि १२ बजे पुनः बस्ने गरी स्थगित भएको ९ नम्बर वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए ।

धरान उपमहानगरपालिकाको नवौँ नगर सभाको उद्घाटन प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले गर्ने र नीति तथा कार्यक्रम प्रस्तुत हुने, आर्थिक ऐन, विनियोजन ऐन प्रस्तुत गरिने बताइएको छ ।

सुनसरी उद्योग वाणिज्य महासङ्घको सभा हलमा हुने नगर सभामा २ अर्ब ३ करोड ६४ लाखको नीति तथा कार्यक्रम पेस हुने बताइएको छ।