इटहरी : सुन्दरहरैचा नगरपालिकाको ८ औँ नगरसभा सम्पन्न भएको छ । बिराटचौक स्थित इन्द्रपुर जेसीजको भवनमा आयोजित सभामा नगर समिति सदस्यहरूले आगामी बजेट गरिबको घरमा छानो र मानोमा केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । लकडाउनको कारण सबैभन्दा मर्कामा परेका गरिब परिवारमा राहतको कार्यक्रम ल्याउनुपर्ने उनीहरूको जोड छ ।

नगर प्रमुख शिव प्रसाद ढकाललाई प्रश्न गर्ने क्रममा उनीहरूले गरिब तथा महिलाको क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने बताए । वडा नम्बर ४ का वडा सदस्य रविन दाहालले लकडाउनको कारण गरिबको घरमा चुलो बल्न छाडेकाले अबको बजेटमा गरिबको घर झल्किनुपर्ने बताए।

विपन्न वर्गका जनताको छानो र मानोको व्यवस्था गरी बजेट आउनुपर्ने उनको भनाई छ । लकडाउनको कारण व्यवसाय बन्द गरेर कर तिर्न बाध्य व्यवसायीको पक्षमा नगरपालिका उदार हुनुपर्ने उनले धारणा राखे।

नगरसभामा बोल्ने अधिकांश वडा सदस्यहरूले स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट ल्याउनुपर्ने सुझाव दिएका थिए । उपमेयर धनमाया तामाङले कृषि क्षेत्रलाई प्राथमिकता दिइएको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छिन्। कोल्ड स्टोर निर्माण गर्ने देखी सार्वजनीक जग्गामा वृक्षारोपण गर्ने जस्ता कार्यक्रम समेटिएका छन्।

"घरै बसी कमाइन्छ नोट, करेसाबारीमै रोपौँ कागती र खोर्सानीको बोट" भन्ने नाराका साथ कागती र खोर्सानीको व्यवसायी खेती सञ्चालन गरिने भएको छ। त्यस सँगै “कृषि पेसाको सम्मान, कृषकलाई अनुदानै अनुदान” कार्यक्रम मार्फत आधुनिक कृषि प्रणालीमा जोड दिइने भएको छ। उपप्रमुख आत्मनिर्भर कार्यक्रम अन्तरगत कृषि पेसामा महिलालाई मल बिउ तथा तालीम प्रदान गरिने भएको छ।

आगामी आर्थिक वर्षको लागी यही १० गते आउने बजेटमा कृषि, स्वास्थ्य र शिक्षा क्षत्र प्राथमिकतामा पर्ने मेयर ढकालले बताए। आगामी आबको लागी २ अर्ब १५ करोड १२ लाख ७ हजार १ सय रुपैयाँको बजेट ल्याउने नगरसभाले निर्णय गरेको छ।

सुन्दरहरैचामा सक्रिय पत्रकारको लागी ५ लाख बराबरको दुर्घटना बिमा कार्यक्रम ल्याउने मेयरको प्रस्ताव सर्वसम्मत पारित भएको हो ।