धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा धरान-८ की एक जना महिला सहित दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार आज बिहान साढे ७ बजे धरान-८ की ६० वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उनलाई जेठ २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी गए राति १२ बजे मोरङको केराबारी-७ का ७२ वर्षीय वृद्ध पुरुषको पनि उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

उनलाई असार ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पनि दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ । दुवै जनाको नियम अनुसार शव व्यवस्थापन भइरहेको प्रतिष्ठानले जनाएको छ ।