इटहरी : इटहरी उपमहानगरपालिकाको आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भएको छ। स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्ने देखी करको दरमा भारी छुटको योजना सहित बजेट पारित भएको हो। बिहीबार नै बसेको कार्यपालिका बैठकले अनुमोदन गरेको बजेट उपमेयर लक्ष्मी गौतमले सोही दिन सार्वजनिक गरेकी हुन्। आगामी आ.ब.को लागी २ अर्ब २७ करोड ४५ लाखको बजेट विनियोजन भएको हो ।

स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिँदै इटहरी अस्पतालको स्तरोउन्नती गरी भेन्टिलेटर र आइसियु सहितको सेवा उपलब्ध गराइने भएको छ । विभिन्न १४ वटा वडामा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराइने र एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य बजेटले लिएको छ । स्वास्थ्य क्षेत्रको लागि चालु आ.ब. भन्दा १ करोड ५० लाख बढी अर्थात् ४ करोड विनियोजन गरिएको हो।

त्यस्तै इटहरी अस्पताल वा इटहरी स्वास्थ्य केन्द्रमा सुत्केरी हुने विपन्न महिला सँग “उपमेयर सुत्केरी भेटघाट” कार्यक्रम प्रभावकारी देखिएकाले सो कार्यक्रमलाई निरन्तरता दिइएको छ । आजसम्म ४ सय भन्दा बढी महिलाहरू उद्यमी र आत्मनिर्भर बन्न सफल भएको ठहर गर्दै “उपमेयर आत्मनिर्भर कार्यक्रम” ले पनि निरन्तरता पाएको छ।

सामुदायिक विद्यालयमा विज्ञान प्रयोगशाला, पुस्तकालय शुद्ध पिउने पानी, बालमैत्री शौचालय, कक्षा ५ सम्मका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रमलाई थप प्रभावकारी बनाइने भएको छ । शिक्षा क्षेत्रकालागि २ करोड रकम विनियोजन गरिएको छ ।

कृषि तथा पशु विकास कार्यक्रमका माध्यमबाट किसानहरू लाभान्वित हुन सकुन् भन्ने उद्देश्यले आगामी वर्षका लागि यस शीर्षकमा रु.२ करोड ५० लाख विनियोजन गरिएको छ । इटहरीवासीलाई आत्मनिर्भर र सक्षम बनाउन सामाजिक विकास क्षेत्रका लागि ३ करोड विनियोजन गरिएको छ । शीत भण्डार सहितको आधुनिक कृषीबजारको निर्माण कार्य गर्न पाँच करोड ५८ लाख बजेट विनियोजन गरिएको छ ।

खेलकुद क्षेत्रलाई पनि बजेटले प्राथमिकतामा राखेको छ । मेयर कप, इटहरी गोल्डकप, अन्तर विद्यालय खेलकुद, नगर स्तरीय जस्ता कार्यक्रम सञ्चालन गरिने भएको छ । आगामी आर्थिक वर्षबाट खुल्ला व्यायामशाला निर्माण गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने भएको छ । शौचालयको समस्या भोग्दै आएको इटहरीमा यस अघि असफल भएको घुम्ती शौचालयले पुनः प्राथमिकता पाएको छ ।

इटहरी भित्रका एफ.एम.रेडियो र टेलिभिजनलाई उपलब्ध गराउँदै आएको कार्यक्रमको निरन्तरता, फिचर लेखन तालिम, फेलोसिप लेखन तथा पत्रकार सम्मान आदि कार्यक्रमलाई आगामी दिनमा निरन्तरता दिइने भएको छ । पत्रकार महासङ्घ सुनसरीको भवनलाई समेत आवश्यक बजेट उपलब्ध गराउने गरी सूचना तथा सञ्चार क्षेत्रमा आवश्यक बजेटको व्यवस्था गरिएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी नागरिकलाई जग्गाको मालिक बनाउने कार्य महत्त्वपूर्ण र ऐतिहासिक कार्य सम्पन्न गर्ने बजेटमा उल्लेख गरिएको छ ।

हरेक वर्ष इटहरीको टाउको दुखाइको विषय भन्दे आएको बाढी र डुबान नियन्त्रणमा जम्मा १ करोड ५० लाख विनियोजन गरिएको छ । बाढी, सितलहर, आगलागी वा अन्य यस्ता कुनै पनि प्राकृतिक तथा गैर प्राकृतिक विपद्बाट नागरिकको जिउधन सुरक्षा गरिने भएको छ ।

करमा छुट

चालु वर्षको राजश्व असुलीबाट ३८ करोड अनुमान गरिएको भए पनि पहिलो तीन महिना र अन्तिम तीन महिना कोभिड सङ्क्रमणको महामारीका कारण अधिकतम २१ करोड मात्र असुल भएको छ । लक्ष्य अनुसारको राजस्व सङ्कलन नभएपछि करको दरमा छुट दिने कार्यक्रम सार्वजनिक भएको छ ।

२०७६/०७७ मा लाग्ने कर २०७८ साल माघ मसान्त भित्र बुझाएमा थप शुल्क, दस्तुर, ब्याज, जरिवाना मिनाहा गरिने साथै आ.ब. २०७३/७४ सम्म तिर्नुपर्ने व्यवसाय कर सम्पूर्ण मिनाहा गरिने भएको छ । यस अघिको सम्पत्ति कर, भूमिकर नतिरेका करदाताले तिर्नुपर्ने कर २०७८ माघ मसान्त भित्र बुझाएमा थप शुल्क, ब्याज, जरिवाना मिनाहा गरिएको छ । २०७५ आषाढ मसान्त अगाडीको बहाल कर मिनाहा गरिने र त्यसपछिको हकमा २०७८ माघ मसान्तमा बुझाए ब्याज, शुल्क र जरिवाना मिनाहा सहित लाग्ने करमा १५ प्रतिशत छुट गरिने भएको छ ।

आ.ब. २०७७/७८ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा ब्याज, शुल्क जरिवाना सहित करमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । कोभिड १९ का कारण सबै भन्दा बढी प्रभावित भएका व्यवसाय, होटेल व्यवसाय, सौन्दर्यकला व्यवसाय, सैलुन व्यवसायलाई ३० प्रतिशत छुटको व्यवस्था गरिएको छ । त्यस्तै आ.ब. २०७८/७९ को व्यवसाय कर २०७८ माघ मसान्त सम्म बुझाएमा करमा बिस प्रतिशत छुट दिइने भएको छ ।

२०७८/७९ मा लाग्ने घर जग्गा बहाल कर, २०७८ माघ मसान्त सम्ममा बुझाएमा लाग्ने करमा दश प्रतिशत छुट हुने भएको छ । तर करमा छुट दिएको भनिए पनि केही सर्तहरू राखिएका छन् । छुटको विषय वित्तीय सेवा र ऋण तथा बचत सहकारी संस्था निर्माण व्यवसाय र १० लाख भन्दा माथि पुँजी लगानी भएका उद्योगहरूको लागि छुटको व्यवस्था लागु हुने नहुने भएको छ । जुन सर्तको कारण अधिकांश व्यवसायी मर्कामा पर्ने भएका छन् ।