इटहरी : वरिष्ठ आँखा रोग विशेषज्ञ डाक्टर बेन लिम्बुको योजना इटहरी उपमहानगरपालिकाको बजेटमा समेटिएको छ। इटहरी उपमहानगरपालिका भरिका बच्चाहरूको लागि आँखा उपचारको योजना ल्याएका डा। लिम्बुको योजनालाई उपमहानगरले बजेटमा समावेश गरेको हो।

शिशु अवस्थामै आँखाको समस्या भएर भविष्यमा ज्योति गुमाउनुपर्ने अवस्था सृजना नहोस् भन्नका लागी उनले नयाँ योजना ल्याएका हुन् । इटहरीमा पाइलट प्रोजेक्टको रूपमा सञ्चालन गरिने यो कार्यक्रम देशैभर फैल्याउने उनको योजना छ।

बिहीबार उपमेयर लक्ष्मी गौतमले सार्वजनिक गरेको बजेट नीति तथा कार्यक्रममा खोप लगाउन आउने बच्चाहरुलागि आँखा उपचार कार्यक्रम समेत सञ्चालन गरिने उल्लेख भएको छ। डा. लिम्बुका अनुसार खोप लगाउने स्वास्थ्यकर्मीलाई आँखा जाँचको तालीम दिएर यो कार्यक्रम प्रभावकारी बनाउन सकिन्छ।

केही दिन अगाडी उनै डा. लिम्बुको अग्रसरतामा इटहरी उपमहानगरपालिकालाई भेन्टिलेटर प्रदान गरिएको थियो । बिहीबार प्रस्तुत बजेटमा नन इन्भेट्री भेन्टिलेटर सहितको आइसीयु. सञ्चालन गरिने उल्लेख गरिएको छ।

त्यस्तै स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको बजेटमा हालको वर्थिङ् सेन्टरलाई स्तरोउन्नती गरी अपरेसन समेतको सेवा सुचारु गरिने उल्लेख छ। अहिले रहेको ल्याबको क्षमतालाई बढाइ आधुनिक ल्याबको सुविधा उपलब्ध गराइने र इटहरी अस्पतालमा आगामी वर्षबाट डाइलालिस सेवा सञ्चालन गरिने भएको छ।

इटहरी अस्पतालको माध्यमबाट आगामी आ.ब. मा थप एक लाख नागरिकलाई स्वास्थ्य बिमा गराउने लक्ष्य राखिएको छ । समग्र स्वास्थ्य क्षेत्रका चालु आबको भन्दा १ करोड ५० लाख बजेट बढाएर ४ करोड विनियोजन गरिएको उपमेयर गौतमले बताइन्।

itahari-aspatal