धनकुटा : धनकुटाको महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ६४ करोड बजेट विनियोजन गरेको छ। चालु आर्थिक वर्षको भन्दा बजेट वृद्धि गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६४ करोड ५४ लाख ९५ हजार ४ सय ४० रुपैयाँ बजेट विनियोजन गरिएको हो।

चालु आर्थिक वर्षका लागि महालक्ष्मी नगरले ६० करोड ४७ लाख ७० हजार ३ सय ३१ रुपैयाँ बजेट ल्याएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि ४ करोड ७ लाख २५ हजार १ सय २७ रुपैयाँ बजेट वृद्धि गरिएको हो। नगर प्रमुख परशुराम नेपालको अध्यक्षतामा बुधवार आयोजित सातौँ नगर सभामा उपमेयर मञ्जु अधिकारीले बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटमा आर्थिक विकासका लागि ५ करोड ५० लाख, सामाजिक विकासमा ३ करोड ५० लाख, पूर्वाधार विकासमा ८ करोड ५० लाख, वातावरण तथा विपद् व्यवस्थापनमा १ करोड, संस्थागत विकास, सेवा प्रवाह र सुशासनमा २ करोड बजेट बाँडफाँड गरिएको छ । बजेट सार्वजनिक गर्नुअघि नगर प्रमुख नेपालले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

नगर सभामा बोल्दै प्रदेश सांसद इन्द्रमणी पराजुली र जिल्ला समन्वय समितिका प्रमुख टङ्क चुवानले महालक्ष्मी नगरपालिकाले नगरको विकासका लागि उत्कृष्ट बजेट ल्याएको भन्दै प्रशंसा गरे । नगरसभाले महालक्ष्मी नगरपालिकाको आफ्नै नगर गान पनि सार्वजनिक गरेको छ । महालक्ष्मी नगरले यसअघि नगरको बेग्लै लोगो पनि सार्वजनिक गरेर प्रयोगमा ल्याएको छ।