धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा धरानका ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले दिएको जानकारी अनुसार धरान–११ का ७५ वर्षीय वृद्ध पुरुषको हिजो दिउसो १०ः५ बजे मृत्यु भएको हो । उनलाई असार ३ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने असार ७ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी दिर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसै गरी हिजो दिउसो २ः१५ बजे धरान–१३ का ४३ वर्षीय महिलाको उपचारको क्रममा मृत्यु भएको छ । उन असार १० गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पनि पहिले देखिनै बिरामी रहेको प्रतिष्ठानले जनाएको छ ।

आज बिहान ४ बजेर ५ मिनेटमा धरान ५ का ७९ वर्षीय वृद्ध पुरुषको पनि बीपीको कोभिड अस्पतालमा उपचारकोक्रममा मृत्यु भएको छ । उनलाई असार १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो भने सोही दिन कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनी पनि पहिले देखि दीर्घ रोगी रहेको प्रतिष्ठानले जनाएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरबाट धरानमा मृत्यु हुनेको सङ्ख्या यो सँगै ६९ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।