धरान : धरान उपमहानगरपालिकाको नगर गौरवको योजना मध्येको धरान-१४ विजयपुर चौक देखि बुढासुब्बा मन्दिर सम्मको ४ सय मिटरको सडक अहिले निर्माण अवरुद्ध भएको छ ।

यो आर्थिक वर्ष भित्र सम्पन्न गर्नुपर्ने भनिएको सो सडक चालु आर्थिक वर्ष ०७७/ ०७८ समाप्त हुन २० दिन मात्र बाँकी हुँदा पनि सडकको निमार्ण कार्य सम्पन्न भएको छैन ।

धरान उपमहानगरपालिका नगर कार्यपालिकाको कार्यालय सडक तथा ढल निमार्ण कार्य अन्तर्गत बुढासुब्बा पथ धरान-१४ सडक तथा ढल निमार्ण कार्यको सम्झौता मिति २०७६ साल ११ महिना २५ गते भएको हो ।निमार्ण कार्य सम्पन्न मिति २०७७ / १० महिना उल्लेख गरिएको छ तर गते तोकिएको छैन ।

कार्यक्रम आयोजनाको लागत तथा बजेट २ करोड १७ लाख ८४ हजार ४ सय ३० रुपैयाँको रहेको छ । यस निमार्ण कार्यको ठेक्का आर्शिवार्द निमार्ण सेवा कम्पनीका प्रोप्राइटर केशर कुमार बुढाथोकीले लिएका छन् ।
यो सडक अस्फाल्ड प्रविधि अन्तर्गत निमार्ण हुने बताइएको छ । यसको लम्बाई ४ सय मिटर र चौडाइ ३० फिट रहेको छ ।

स्थानीय अम्बिका श्रेष्ठ सडकको दायाँ पट्टीको जग्गा दिएर बायाँ पट्टीको नदिँदा सडक निमार्ण रोकिएको कृष्ण श्रेष्ठ बताउँछन् । एक स्थानीयले भने अम्बिका विजयपुरकै प्रतिष्ठित भनेर चिनिनु हुन्छ तर, सडक निमार्ण जस्तो कार्यमा उहाँले जग्गा नदिनु लाजमर्दो कुरा हो ।

कुनै पनि योजना समयमा नै पुरा नहुने दुभार्यपूर्ण अवस्था भएको बताउँदै स्थानीय प्रेम पराजुलीले भने यस सडकमा कसको कमी कमजोरी वा कसको बदमासी भएको त्यो हामीले बुझ्नु पाउनु पर्छ हैन भने सडक समयमा नै बनाउनु पर्छ ।

धरानलाई धार्मिक र पर्यटकीय सहरका रूपमा धेरैले चिन्छन् । बुढासुब्बामा केही समय अगाडी देखि नै बाटो खन्न थालेर बाटोमा बालुवा, माटो, बोर्ड, रड र गिट्टी राख्दा सडक साँघुरिएको तथा बिजुलीका पोलहरू भत्काएको कतै बाँसको टेका लगाएर अड्याएको पाइन्छ । तर सम्बन्धित निकायले भने यस विषयमा खासै चासो देखाएको छैन ।

लकडाउन खुकुलो भए सँगै धरानको प्रसिद्ध धार्मिक पर्यटकीय स्थलको बाटोमा यसरी केही निमार्ण कार्यको सुरु गरेर निमार्ण कार्य सम्पन्न नहुँदा बुढासुब्बा दन्तकाली र पिण्डेश्वर आउने धार्मिक पर्यटकहरुलाईलाई समस्या हुने गरेको छ ।

धरान उपमहानगरपालिकाका इन्जिनियर सौहार्द श्रेष्ठले महामारी भएकाले सडक तोकिएको मितिमा निमार्ण सम्पन्न हुन नसक्ने बताएका छन् । निर्माण सम्पन्न गर्ने मितिमा सडक नसकिने भएकोले सो सडक निर्माणका लागि फेरि ६ महिनाको म्याद थप गरेको बताइएको छ ।

१४ नम्बर वडाका वडाध्यक्ष कृष्ण प्रसाद भट्टराईले एडिबीको पाइपलाइन गाड्दा स्थानीयले विरोध गर्ने भएकाले सडक निमार्ण गर्न असहज भएको बताए ।

धरान नगरको गौरवको योजना मानिएको धरानको मुख्य धार्मिक क्षेत्र बुढासुब्बा मन्दिर जाने सडक निर्माण अवरुद्ध हुँदा समेत स्थानियबासीलाई सम्बन्धित निकायले बुझाउन नसक्दा के कारणले सडक निर्माण रोकिएको हो भन्ने कुरामा बेखवर छन् ।

त्यसैले नगर गौरवका यस्ता योजनाहरू तोकिएको समयमा कसरी सम्पन्न गर्ने भनेर धरान उपमहानगरपालिकालेनै अलि बढी चासो देखाउन जरुरी छ ।