इटहरी : इटहरी उपमहानगरपालिकाले २१ वटा उन्नत वोयर जातको बोका वितरण गरेको छ ।

एक कार्यक्रमका बिच उपमेयर लक्ष्मी गौतमले कृषक समूहरुलाई बोका वितरण गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद सुवेदी,वडा नम्बर ३ का वडाध्यक्ष वालकृष्ण विष्ट र वडा नम्बर १९ का वडाध्यक्ष श्रीनारायण चौधरीको समेत उपस्थितिमा वोयर जातका बोका वितरण गरिएको हो ।

इटहरी उपमहानगरपालिका पशुपंक्षि शाखा प्रमुख दुर्गा श्रेष्ठका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कृषि फमहरुलाई १३ वटा बोका ७५ प्रतिशत अनुदानमा वितरण गरिएको हो । अरू बोका बाख्रा पकेट कार्यक्रम लागु भएको इटहरी-१८ को शिहंदेवी कृषि सहकारी संस्थामा आबद्ध कृषि समूहलाई वितरण गरिएको हो ।

यसमा कृषकको ३३ प्रतिशत लागत साझेदारी रहेको छ । त्यहाँका कृषकहरूलाई केही दिन भित्रैमा सय वटा वोयर जातका पाठी वितरण गर्ने कार्यक्रम रहेको शाखा प्रमुख श्रेष्ठले जानकारी दिए ।

आज वितरित बोकाको मूल्य ५० हजार देखि १ लाख ५० हजार सम्मको रहेको छ । गत वर्ष वितरित बाख्राबाट जन्मिएको ६ महिनाको एउटा पाठो ६५ केजीको भएको जानकारी दिइएको छ ।