धरान : बीपी प्रतिष्ठान सुधारका लागि गठित नागरिक दबाब सञ्जालले प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी बेपत्ता भएको भन्दै चेतावनी विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तिमा भनिएको छ 'प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरी गुप्तवासमा हुनुहुन्छ, लुकेर समस्या समाधान हुँदैन भिसी सर, आउनुस् समस्या समाधानमा सहकार्य गरौँ काँधमा काँध मिलाएर अघि बढौँ, यस पटक तपाईँलाई हामी ३ दिनको समय दिन्छौँ ।'

'यो ३ दिन भित्र आएर वार्ता थाल्नुहोस् या आउनुहुन्न भने अर्को चरणको कठोर आन्दोलनको सामना गर्न तयार हुनुहोस् । त्यसबाट पर्न सक्ने क्षतिको जिम्मेवारी पनि यहाँ कै हुनेछ भन्दै नागरिक दबाब सञ्जाल यहाँमा चेतावनी दिन चाहन्छ' विज्ञप्तिमा भनिएको छ ।

नागरिक दबाब सञ्जाल धरानले आज एक चेतावनी विज्ञप्ति निकाल्दै प्रतिष्ठानमा सेवाग्राहीका तमाम गुनासाहरू चुलिएर थाती नै छन् । चिकित्सक तथा कर्मचारीहरू आन्दोलनमा छन् । आर्थिक वर्ष सकिन लाग्दा प्रतिष्ठानको यस वर्षको बजेट घाटा मात्र झन्डै ९० करोड पुग्दैछ ।

औषधीको अभाव, मेसिन तथा उपकरणहरू अस्तव्यस्त, गुणस्तरहीन किट तथा चालु खर्च पनि सङ्कटग्रस्त छोडेर प्रतिष्ठानका उपकुलपति प्रतिष्ठान बाहिर हुनु कतिको उत्तरदायित्व अथवा जबाफदेहिता हो भन्ने कुरा अब मूल्याङ्कन गर्न ढिलो भएन र ? भनेको छ ।

नागरिक दबाब सञ्जाल, धरानले गत जेठ २४ गते चारै जना पदाधिकारीको उपस्थितिमा ध्यानाकर्षण पत्र पढेर सुनाए पछि उपकुलपति स्वयंले एक हप्तामा हुनसक्ने सुधारका कामहरूको मूल्याङ्कन गर्दै एक हप्ता पछि पुन वार्ता गर्ने सहमतिको उद्घोष गर्दा सञ्जाल र उपस्थित दलीय संयन्त्र निकै आशावादी भएको थियो ।

अल्टिमेटमको अवधि पूरा हुनु २ दिन अघि काठमान्डु जान्छु भनेर हिँडेका उपकुलपति अहिले सम्म नफर्किएको विज्ञप्तिमा उल्लेख छ । यसरी प्रतिष्ठान सुधारका लागि सिङ्गै धरान एकजुट भएर साथ पाएका बेला त्यो साथको सदुपयोग गर्नुको सट्टा लगातार अस्तव्यस्त प्रतिष्ठान छोडेर भिसी अनुपस्थित हुनुलाई सञ्जालले गम्भीरतापूर्वक लिएको विज्ञप्तिमा जनाएको छ ।

यो लुकामारीले या त भिसीसँग समस्या समाधान गर्ने क्षमता छैन या उहाँ पनि त्यसैमा संलग्न हुनुहुन्छ भन्ने प्रश्न खडा गरिदिएको छ । प्रमुख पदाधिकारीमा इच्छाशक्ति नजाग्नुको कारण कि त क्षमता हो या इमानको अभाव भनिएको छ ।

प्रतिष्ठान भित्र बेथिति र भ्रष्टाचारको जालो छ अख्तियारमा दर्जनौँ मुद्दाको चाङ छ । उत्कृष्ट मेडिकल कलेज, पूर्वाञ्चलकै रेफरल हस्पिटल, धरानको प्राण यो अस्पताललाई कसैले यसको साख गिराउन क्षणिक लाभको मोहमा कुनै कर्तुत गर्दछ भने उसलाई आवश्यक दण्ड दिन पछि नहट्ने अठोटका साथ अहिले धरान जुरमुराएको छ । आन्दोलित भएको छ ।

नागरिक स्वास्थ्यसँग जोडिएको यो गहनालाई कमाइखाने अड्डाका रूपमा विकृत पारिएको हामीलाई कहिल्यै सहा हुँदैन । यो सरकारी संरचनालाई मारेर निजीलाई पोसिएको हामीलाई कदापि स्वीकार्य हुनेछैन विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा थोरै बिराउने पिराउने’ भने झैँ आज प्रतिष्ठानको साखमाथि नै धावा बोलिरहेका भ्रष्टहरूको भण्डाफोर गर्दै उनीहरूलाई कारबाहीको कठघरामा उभ्याउन पनि हामी तमाम नागरिकहरूलाई प्रतिष्ठान परिवारलाई र स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकार समेतले हामीलाई साथ दिन आह्वान गर्दछौँ भनिएको छ ।

आम नागरिकको स्वास्थ्य, भविष्यका सक्षम डाक्टर र नर्सहरूको उत्पादन लगायत यस प्रतिष्ठानमा आश्रित तमाम सेवाग्राही माथि अन्याय भइरहेको छ यो लडाई ती सबैलाई न्याय दिलाउने तर्फ केन्द्रित रहने समेत विश्वास दिलाउन चाहन्छौँ । सञ्जालका संयोजक डा. राजेन्द्र शर्मा र सदस्य सचिव कमल तिगेलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा सुधार एउटा उपचार हो । अस्पताल स्वस्थ रहे मात्र सेवा स्वस्थ रहन सक्छ भनिएको छ ।

यसै गरी दलीय संयन्त्रले पनि आज एक विज्ञप्ति जारी सञ्जालको अल्टिमेटमको प्रवाह नगरी प्रतिष्ठानका उपकुलपति गिरी बेपत्ता भएको भन्दै आपत्ति जनाएको छ ।

मिति २०७८ जेठ २४ गतेका दिन प्रतिष्ठानको अडिटोरियम हलमा धरान उपमहानगर प्रमुख एवम् सिनेट सदस्य तिलक राईको संयोजनमा चार जना पदाधिकारीहरूको उपस्थितिमा एक हप्ते अल्टिमेटम सहित सुधारका ११ बुँदे सुझावहरू पेस गर्दै ध्यानाकर्षण पत्र बुझाएको थियो ।

तर एक हप्ते अल्टिमेटमको ठिक २ दिन अघि नै प्रतिष्ठानका उपकुलपति डा। ज्ञानेन्द्र गिरी बेपत्ता भई धरानकै प्रतिष्ठित प्रबुद्ध व्यक्तित्वहरू सहभागी भएको धरान नागरिक दबाब सञ्जालको सुझाव अल्टिमेटमलाई बेवास्ता गरिएको प्रति धरानमा क्रियाशील रहेका ९ राजनीतिक दलहरूको दलीय संयन्त्रको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाएको छ ।

विज्ञप्तिमा यसबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानवासी जनताहरूको चासो प्रति गैर जिम्मेवार देखिएकाले यो समग्र धरानवासी जनताहरूको अपमान हो भन्ने हाम्रो ठहर छ ।

देशकै ठुलो तथा दक्षिण एसियाकै नमुना स्वास्थ्य सेवा प्रदायक अस्पताल बनेको हेर्न चाहन्छौ यसका लागि त्यहाँ देखिएका सबै खाले समस्या, विकृति, विसङ्गति, भष्टचार तथा अनियमितता अन्त्यका लागि जस्तो सुकै कठोर कदम चाल्न पनि तयार रहेका छौँ ।

आजका दिनदेखि तीन दिन भित्र देश विदेशको जुनसुकै ठाउँमा लुकेर बसेको भएता पनि आफ्नो कार्यकक्षमा उपस्थित भई घरान नागरिक दबाब सञ्जाल सँग प्रतिष्ठानको चारै जना पदाधिकारीहरू सहित अविलम्ब वार्ता गरी आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीज्यूलाई अपिल गर्दछौ विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा यदि हामीले प्रस्ताव गरेको तीन दिनको समय सीमालाई पनि बेवास्ता गरिएमा ९ दलीय संयन्त्र कठोर आन्दोलनका कार्यक्रमहरूको घोषणा गरी अघि बढ्ने र त्यसबाट उत्पन्न हुने सबै खाले परिणाम तथा परिस्थितिको सामना गर्न तयार हुन समेत प्रतिष्ठानका पदाधिकारीहरूलाई हामी चेतावनी दिन चाहन्छौ धरानका सबै जनताहरूको धैर्यको बाँध नफुटोस हामी कामना गर्दछौं भनिएको छ ।

विज्ञप्तिमा नारायण सुवेदी अध्यक्ष नेकपा एमाले,श्याम पोखरेल सचिव नेपाली काँग्रेस, लक्ष्मी प्रधान प्रतिनिधि नेकपा माओवादी केन्द्र केन्द्र, ताजुब लिम्बू अध्यक्ष जनता समाजवादी पार्टी नेपाल, सन्जुहाङ साँवा अध्यक्ष सङ्घीय लिम्बुवान मञ्च, चित्र मगर हाङ अध्यक्ष राष्ट्रिय जनमुक्ति पार्टी, एकराज सुब्बा प्रतिनिधि नेकपा माले, रोशन दर्नाल प्रतिनिधि राप्रपा, दोर्ची शेर्पा प्रतिनिधि राप्रपा नेपाल आबद्ध दलीय संयन्त्रले विज्ञप्ति जारी गरेको हो । 

Bigyapti-Sanjal Daliya-Samyantra