धरान : झापाको काँकडभिट्टा इलाका प्रहरी कार्यालयको हिरासतबाट शुक्रवार बिहान शौचालयको भेन्टिलेसन फुटाएर भागेका एक थुनुवालाई प्रहरीले ११ घण्टा पछि पक्राउ गरेको छ।

गत २३ गते लागूऔषध सम्बन्धी मुद्दामा पक्राउ परेका कन्काई नगरपालिका वडा नं ३ का रोशन यादव नामका थुनुवा शौचालय गएको बेला फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए।

झापाबाट खटिएको प्रहरी टोलीले झापा-७ शरणामति स्थित ससुराली घरबाट लुकीछिपी बसेको अवस्थामा फेला पारी साँझ पक्राउ गरेको हो ।

कोरोना पोजेटिभ भएर हिरासतको छुट्टै आइसोलेसनमा रहेका यादवले शौचालयको भेन्टिलेसन फुटाएर भागेको थापाले बताए ।

लागुऔषध मुद्दामा म्याद थप गरिएका यादवलाई ७ गते कोरोना सङ्क्रमित भएको प्रहरीले जनाएको छ। कोरोना पोजेटिभ भएका कारण उनलाई छुट्टै स्थानमा राखिएको प्रहरीले जनाएको छ ।