धरान : धरानकी महिला अधिकारकर्मी तथा सामाजिक अभियन्ता तारा शाक्यको निधन भएको छ ।

धरान-१५ निवासी शाक्य केही दिन देखि बिरामी भएर घरमै बसेकी थिइन् । कोभिडसँग मिल्दो जुल्दो लक्षण देखिएको भए पनि कोभिड परीक्षण नगरी अक्सिजन लेबल घटेपछि घरमै अक्सिजन लिएर बसेकी थिइन् ।

गए राति स्वास्थ्यमा केही गम्भीर समस्या देखिए पछि उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएर उपचारको क्रममा निधन भएको उहाँका नजिकका विद्या देवानले जानकारी दिइन् ।

उनी नेवा : देय् दबूँ धरानका जातीय प्रतिनिधि तथा नेपाल आदिवासी जनजाति महासङ्घ, धरानका वरिष्ठ उपाध्यक्ष, सामुदायिक परिसेवा केन्द्रको कोषाध्यक्ष लगायत विभिन्न मजदुर संघसंगठन र अरू सङ्घ संस्थामा पनि आबद्ध रहेकी थिइन् ।

५० वर्षीय शाक्य धरानकी एक सक्रिय महिला अधिकारकर्मी तथा अभियान्ताकोरुपमा चिनिन्थिन् भने यातायात मजदुरहरूको हक हित प्राप्तिको पक्षमा पनि सक्रिय थिइन् ।