सुनसरी : जिल्ला प्रहरी कार्यालय सुनसरीमा चौध महिना अघि सरुवा भई आएका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाको कार्यकालमा प्रहरी सङ्गठनका लागि आवश्यक पर्ने चौकी भवन निर्माणका लागि १८ कठ्ठा जग्गा प्राप्त भएको छ ।

एसपी थापाको पहलमा स्थानीय जग्गादाताहरूबाट १८ कठ्ठा १० धुर जग्गा प्रहरीको नाउँमा प्राप्त भएको हो । प्रहरीमा आवश्यक पर्ने भवन तथा चौकी निर्माणका लागि इलाका प्रहरी कार्यालय रामधुनीका लागि ५ कठ्ठा १० धुर, वडा प्रहरी कार्यालय रामधुनीका लागि ६ कठ्ठा, प्रहरी चौकी रामधुनीका लागि ३ कठ्ठा, इलाका प्रहरी कार्यालय सितागंजका लागि १ कठ्ठा र अस्थायी प्रहरी चौकी तनमुनाका लागि ३ कठ्ठा गरी कुल १८ कठ्ठा १० धुर जग्गा प्राप्त भएको जनाइएको छ ।

एसपी थापाको सरुवा भए पछि जानु अघि पत्रकार सम्मेलन गरी आफ्नो १४ महिने कार्यकालको प्राप्त उपलब्धिहरू सार्वजनिक गरेका छन् । एसपी थापाले आफ्नो कार्यकालमा गत वैशाख देखि यस वर्षको जेठ मसान्त सम्ममा राजस्व चुहावट नियन्त्रण तर्फ ३२ जनालाई पक्राउ गर्नुका साथै ३ करोड ५१ लाख १३ हजार ३ सय ४६ रुपैयाँ बराबरको सामान भन्सारमा बुझाएको छ ।

गत आर्थिक वर्षमा बुझाएको राजस्व भन्दा दोब्बरले एसपी थापाको कार्यकालमा राजस्व चुहावट नियन्त्रण गरेको उपलब्धिको उल्लेख गरिएको छ ।

प्रहरीले भौतिक पूर्वाधार निर्माण तर्फ ९ वटा आधुनिक भवनहरू निर्माण कार्य सम्पन्न भई सञ्चालनका लागि पूर्ण तयारीमा रहेको जनाइएको छ । एसपी थापाले आफ्नै कार्यकालमा सरकारको नीति अनुसारको विनियोजित बजेटमा भवन निर्माण कार्य सम्पन्न गरेको जानकारी दिए ।

उक्त सार्वजनिक कार्यक्रममा प्रहरी डिएसपी नगेन्द्र कुमार कार्की, इन्स्पेक्टरहरूमा सुभाष भट्टराई, जयदेव माझी, मिना देवी राई, नवराज खडका, विशाल लिम्बु विभिन्न सञ्चार क्षेत्र सँग आबद्ध सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।