सुनसरी : सुनसरी जिल्लामा पछिल्लो समय कोरोना संक्रमणदर घटेसँगै सुनसरीका विभिन्न स्थानमा सञ्चालन गरिएका आइसोलेसन केन्द्रहरू खाली हुन थालेका छन् । तर धरानमा भने आइसोलेसनमा अहिले पनि १४ सङ्क्रमित बसेका छन् ।

सामाजिक विकास मन्त्रालयको हिजोको तथ्याङ्क अनुसार प्रदेश १ कै सबै भन्दा धेरै नयाँ सङ्क्रमित थपिएको पालिका धरान उपमहानगरपालिका भएको छ । हिजो मात्रै ७१ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् ।

हिजो थपिएका सबै धरानका नै पनि हुन नसक्ने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेता बताउँछन् । उनी भन्छन्– बीपीमा उपचारमा आउने र बीपी भित्रका सबैको रिपोर्टमा धरान–१८ उल्लेख गरिएकोले सबैलाई धरानमै गणना हुँदा सङ्क्रमितको सङ्ख्या उच्च देखिएको हो ।

तर पनि धरानमा पछिल्लो समय अरू स्थानीय निकायहरूमा संक्रमणदर घटेको छ तर धरानमा त्यति धेरै त होइन केही मात्रै संक्रमणदर कम भएको प्रमुख मेहेता स्वीर्काछन् । धरानमा संक्रमणदर खासै कम नभएकै कारण धरान उपमहानगरपालिकाद्वारा सञ्चालन गरिएको हरियाली आइसोलेसनमा पनि सङ्क्रमितको सङ्ख्या नघटेको उनी बताउँछन् ।

अहिले जिल्लाका अरू आइसोलेसन खाली हुदैगर्दा हरियाली आइसोलेसनमा १४ जना कोरोना सङ्क्रमित रहेका छन् । यसले के देखाउँछ भने अन्त सङ्क्रमण घटेसँगै आइसोलेसन खाली भए तर धरानमा उस्तै अवस्था कायम छ ।

सुनसरी सदरमुकाम इनरुवा सहित विभिन्न पालिकामा कोरोना सङ्क्रमितहरूलाई राख्नका लागि निर्माण गरिएको आइसोलेसन केन्द्रहरू पछिल्लो समय खाली हुँदै गएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल बताउँछन् ।

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको कोरोना सङ्क्रमितहरूलाई लक्षित गरी जिल्ला भर विभिन्न पालिकामा गरी १६ वटा आइसोलेसन केन्द्र सञ्चालन रहेकोमा हाल आधा भन्दा बढी खाली भएका छन् ।

इनरुवा–४ मा रहेको बसपार्क आइसोलेसन केन्द्र, इनरुवा–३ को आइसोलेसन केन्द्र, इनरुवा–५ बलाहा बहुमुखी क्याम्पस आइसोलेसन केन्द्र र इनरुवा अस्पताल स्थित कोभिड उपचार केन्द्र खाली भएका छन् ।
त्यस्तै गढी गाउँपालिकाको गढी आइसोलेसन केन्द्र समेत खाली भएको छ ।

उता दक्षिणवर्ती सीमा क्षेत्रमा पर्ने हरिनगर गाउँपालिकाको बिजी हस्पिटल आइसोलेसन केन्द्र र बर्जू गाउँपालिकाको कोभिड १९ अस्थायी उपचार केन्द्र खाली भएको छ भने बराहक्षेत्र नगरपालिकाको सप्तकोशी बहुमुखी क्याम्पस आइसोलेसन केन्द्रमा ५० जना क्षमता रहेकोमा हाल २ जना मात्र सङ्क्रमित रहेका छन् ।

इटहरीको २ वटा आइसोलेसन केन्द्रमा समेत न्यून सङ्ख्यामा सङ्क्रमितहरू सेवा लिई रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।