झापा  : नेकपा एमालेको युवाहरूको सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल दमक नगर कमिटीले शनिवार दमकमा बृहत् सरसफाइ गरेको छ ।

दमकस्थित मुख्य चौकबजारमा रहेका सालिक र नमुना बजारमा सरसफाइ गरिएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य जमुना निरौला अधिकारीले बताइन्।

दमक-६ को देवकोटा चौकमा अवस्थित राष्ट्रिय विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटा, वडा नं ५ भानुचौकको आदिकवि भानुभक्त आचार्यको सालिकको सरसफाइ गरिएको छ।

सालिक राखिएको क्षेत्रमा सरसफाइ गर्नुका साथै त्यहाँ अवस्थित फूलका गमलामा समेत सरसफाइ गरिएको अधिकारीले बताइन् । त्यस्तै दमकको मुख्य बजार नमुना मार्गमा समेत युवा सङ्घले सरसफाइ गरेका छन्।

सो मार्गमा रहेको फूलबारीसहित नमुना मार्ग परिसरभित्र रहेका फलामको फलैँचालाई सरसफाइ गरिएको नेत्री अधिकारीले जानकारी गराइन्। दमक नगर कमिटीका अध्यक्ष राम पौडेलको नेतृत्वमा आयोजित सरसफाइ कार्यक्रममा नगर कमिटीका नेताहरूको उपस्थिति रहेको थियो।